post-slider post-slider

विश्वकै सबैभन्दा ठूलो क्रुज पहिलो यात्रामा, कार्बन उत्सर्जनलाई लिएर चिन्ता

Image
A A

काठमाडौं- विश्वको सर्वाधिक ठूलो क्रुज पानीजहाज मयामी फ्लोरिडाबाट आफ्नो पहिलो यात्रामा निस्किएको छ।

पानीजहाजले उत्सर्जन गर्ने मिथेन ग्यासलाई लिएर चिन्ताहरु व्यक्त गरेका छन्।

३६५ मिटर लामो आइकन अफ द सीज नामक यो क्रुजका २० वटा डेकहरु छन्।

त्यहाँ अधिकतम ७ हजार ६ सय यात्रु सवार रहन सक्छन्। रोयल क्यारेबियन गु्रपको स्वामित्वमा उक्त क्रुज रहेको छ।

आफ्नो पहिलो यात्राका क्रममा यो क्रुज सातदिने भ्रमणमा हुनेछ।

तर, कतिपय वातावरण अधिकारकर्मीहरुले तरल प्राकृतिक ग्यास अर्थात एलएनजी प्रयोग गरिने यो पानीजहाजले घातक मिथेन उत्सर्जन गर्ने चेतावनी दिएका छन्।

‘यो गलत दिशातर्फको कदम हो,’ इन्टरनेसल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेसनका मरिन प्रोग्राम निर्देशक ब्रायन कोमरलाई उद्धृत गर्दै रोएटर्स समाचार संस्थाले भनेको छ।

यसै सप्ताह आयसिसीले निकालेको एउटा प्रतिवेदनमा एलएनजी प्रयोग गरिएका पानीजहाजबाट हुने मिथेन उत्सर्जन अहिलेको नियमनले अनुमान गरेको भन्दा धेरै रहेको ठहर गरेको थियो।

एलएनजी अरु परम्परागत मरिन इन्धनभन्दा सफा बल्ने भएता पनि त्यो चुहावट जोखिम रहने गर्छ।

मिथेन एउटा शक्तिशाली हरित ग्यास हो र यसले २० वर्षको अवधिमा कार्बन डाइअक्साइडको तुलनामा ८० गुणा बढी ताप वायुमण्डलबाट सोस्छ।

यी उत्सर्जनहरु कटौती गर्नु तापमान वृद्धिलाई नियन्त्रण गर्ने तर्फको महत्वपूर्ण कदम हो।

एक जना रोयल क्यारिबियन प्रवक्ताले आधुनिक पानीजहाजहरुलाई इन्टरनेसनल म्यारिटाइम अर्गनाइजेसनले तोकेको भन्दा आइकन अफ द सीजले २४ प्रतिशत इन्धन कम खपत गर्ने बताएका छन्।

उक्त कम्पनीले सन् २०३५ सम्म कुल उत्सर्जन शून्य गर्ने पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

हाल इन्टर मायामीबाट खेल्ने गरेका अर्जेन्टिनाको विश्वकप फुटबल टोलीका कप्तान लियोनल मेस्सी बुधबार उक्त पानीजहाजको नामकरण समारोहमा उपस्थित थिए।

उनले विशेष ढंगले निर्माण गरिएको एउटा स्ट्यान्डमा फुटबल राखेर शुभकामना दिएको देखिएको थियो।

आइकन अफ द सीज बनाउन २ अर्ब डलर लागेको थियो। त्यसमा ७ वटा स्विमिङ पुल, ६ वटा वाटर स्लाइड र ४० भन्दा बढी रेस्टुराँ, बार र लाउन्जहरु रहेको बताइएको छ।(बिबिसीबाट)

 

Tags: