post-slider post-slider

मधेस प्रदेस : भागबन्डा मिलाउन मन्त्रालय फुटाएर मन्त्रीमण्डल पुनर्गठन

Image
A A

काठमाडौं- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय फुटाएर सातौंपटक मन्त्रीमण्डल पुनर्गठन गरेका छन्।

मुख्यमन्त्री यादवले जनमत पार्टीको भागमा रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर एक मन्त्रालय थपेका हुन्।

यो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको छ।

चार महिनादेखि विनाविभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई मन्त्रालय तोक्न मुख्यमन्त्री यादवले मन्त्रालय फुटाएका हुन्।

२०७४ सालको निर्वाचनमा तत्कालीन राजपा (हाल लोसपा) बाट प्रदेससभा सदस्यमा निर्वाचित भएकी साह यसपाली टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्।

स्वतन्त्र हैसियतमा प्रदेससभा सदस्यमा निर्वाचित भएकी उनी जसपामा प्रवेश गरेकी थिइन्। 

प्रदेस सरकारमा मन्त्री पाउने ‘सर्त’ मा साह जसपा प्रवेश गरेको त्यो बेला चर्चा चलेको थियो। पार्टी प्रवेशपछि मुख्यमन्त्री यादवले उनलाई सरकारमा सहभागी गराए पनि मन्त्रालय तोकेका थिएनन्।

मुख्यमन्त्री यादवले जनमतको भागमा रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र यसअघि शिक्षा तथा समाज कल्याणमन्त्री रहेका जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएका छन्।

मुख्यमन्त्री यादव प्रदेसबाहिर रहेको बेला मधेस प्रदेसमा मन्त्रीमण्डल पुनर्गठन भएको हो। केही दिनअघिमात्र उनले दोस्रो वरीयतामा रहेका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएर प्रदेसबाहिर गएका हुन्।

प्रदेस प्रमुख हरिशंकर मिश्रले शुक्रबार विज्ञप्ति जारी गरेर मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको सिफारिसमा मन्त्रीहरूको कार्यविभाजन भएको जनाएका छन्।

स्रोतका अनुसार मुख्यमन्त्री यादवले मन्त्रीमण्डल पुनर्गठनको निर्णय १६ असोजमै गरेका थिए। 

‘मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय असोज १६ मै भएको हो। केही प्राविधिक कारणले कार्यान्वयनमा आउन सकेन। आज प्रदेस प्रमुखबाट यो निर्णय भएको हो,’ मुख्यमन्त्री यादवनिकट स्रोतले भन्यो।

मुख्यमन्त्री यादवले मन्त्रालय फुटाएकोप्रति जनमत पार्टी असन्तुष्ट बनेको छ।

सरकारमा सहभागी जनमतका मन्त्री महेस यादवले मन्त्रालय फुटाउन मुख्यमन्त्रीले चोरबाटो अपनाएको आरोप लगाए।

बुधबार बसेको मन्त्रिपरिषद बैठकमा मन्त्रालय फुटाउने र कार्यविभाजनको प्रस्ताव नै नल्याइ मुख्यमन्त्री चोरबाटो हिँडेको उनको भनाइ छ।

‘क्याबिनेट बैठकमा मन्त्रालय फोड्ने र कार्यविभाजनको प्रस्ताव नै आएको थिएन। मुख्यमन्त्री नै क्याबिनेट हुनुहुन्छ। कसरी गर्नुभयो उहाँलाई नै थाहा होला। गठबन्धन र क्याबिनेटमा कुनै छलफल भएको छैन,’ मन्त्री यादवले भने।

जनमत पार्टीले आफ्नो मन्त्रालय फुटाइए सरकारबाट बाहिरिने चेतावनी यसअघि नै दिएको थियो।

संसदीय दलका नेतासमेत रहेका यादवले मन्त्रालयको पदभार ग्रहण गर्ने कि नगर्ने यसबारे पार्टीमा छलफल गरेर निर्णय हुने बताए।

 

Tags: