post-slider post-slider

रेशम आममाफीको मुद्दा : सर्वोच्चबाट कारण देखाऊ आदेश जारी

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आमाफीविरूद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न कारण देखाऊ आदेश जारी गरेको हो।

टीकापुर घटनामा अदालतबाट दोषी ठहर भइ जन्मकैदको सजाय काटिरहेका चौधरीले गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका थिए।

आममाफीको निर्णयविरूद्ध शारदा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेकी थिइन्।

रिट दायर गर्ने शारदा टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन्।

टीकापुर हत्याकान्डका मुख्य योजनाकारका रूपमा रेशमविरूद्ध कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले जेठ २ गते सदर गरेको थियो।

तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि रेशम जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रेशमकी पत्नी रञ्जिता चौधरी अहिले सरकारमा मन्त्री छिन्।

Tags: