post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : मधेसमा आनन्द ढुंगाना कति सुरक्षित?

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेसबाट आनन्दप्रसाद ढुंगानाले टिकट पाउँदा नेपाली कांग्रेसकै नेताहरूले लख काट्दै भने– पार्टीले कम्तिमा मधेस प्रदेसबाट मधेसी अनुहार अगाडि सार्नु पर्दथ्यो।

राष्ट्रियसभा सदस्यका लागि प्रदेसबाट सहमहामन्त्री फरमुल्लाह मंसुर, पुराना नेता रामचन्द्र तिवारीहरूको नाम सिफारिस भएको थियो।

तर, टिकट पाउने रेसमा ढुंगानाले बाजी मारे। पछिल्लो समय सभापति शेरबहादुर देउवासँग नजिकएका उनले टिकट पाए।

ढुंगानाले टिकट पाएपछि अवसर नपाएकाहरूलाई अघि सार्ने केन्द्रीय कार्यसमितिको निर्णयबाट कांग्रेस पछि हटेको टिप्पणी पनि पार्टीकै कैयौं नेता र कार्यकर्ताहरूको थियो।

प्रजातन्त्र पुनः स्थापना भएयता २०४८ सालदेखि ढुंगानाले कुनै न कुनै रूपमा अवसर पाउँदै आएकाले यस्ता टिप्पणीहरू भए र हुँदैछ। तीन दशकदेखि भइरहेका चुनावहरूमा उनी प्रत्यक्ष वा समानुपातिकतर्फ सिफारिसमा पर्दै आएका छन्।

पूर्वसांसद एवं कांग्रेस स्मृतिनारायण चौधरीले त एक सार्वजनिक कार्यक्रममै राष्ट्रियसभामा ढुंगानालाई टिकट दिइएकोप्रति रोष प्रकट गरे।

उनले भने,‘शेरबहादुरजीलाई प्रभावमा पारेर दाइलाई वाणिज्य बैंकको अध्यक्ष बनाउनु भएको छ। छोरा वीर अस्पतालको प्रमुख पदमा हुनुहुन्छ नै। फेरि राष्ट्रियसभा सदस्य पनि उहाँ नै बन्नुपर्नेछ।’

नेता झाको मात्रै होइन अधिकांश कांग्रेसका नेता र समर्थकहरूको टिप्पणी यस्तै छ।

ढुंगानाका समर्थकहरू भने मधेसबाट मधेसी अनुहारलाई उम्मेदवार नबनाइएको तर्कबाट सहमत छैनन्। 

सँधै मधेसबाटै राजनीतिकर्म अगाडि बढाइरहेका ढुंगानाले मधेसी नभएकै कारण अवसर किन नपाउने भनाइ उनीहरूको छ।

ढुंगानानिकट कांग्रेस मधेस प्रदेस समितिका एक सदस्य भन्छन्,‘देशभर मधेसीले कोटा पाउने, अनि मधेसमा एक जना खसआर्यलाई अवसर दिँदा यत्रो हंगामा किन मचाउनुप¥यो? मधेसबाट राजनीति गरिरहेका पहाडी समुदायले मौका पाउने कि नपाउने?’

ढुंगानाले टिकट पाएपछि कांग्रेसभित्रै सुनिएका अन्तरविरोधका स्वरहरूको फाइदा एमाले र जनमत पार्टीले लिन खोजेको छ। ढुंगानाले प्रतिस्पर्धा गरिरहेका छन्।

ढुंगानाले प्रतिस्पर्धा गरिरहेको अन्य समूहबाट एमालेले विजेता चौधरी र सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले रामशंकर महासेठलाई उम्मेदवार बनाएको छ।

प्रदेससभा सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा ढुंगानाको उम्मेदवारीबाट असन्तुष्ट गठबन्धनको मत आफूतिर तान्ने रणनीतिमा एमाले र जनमत देखिएका छन्।

तर, राष्ट्रियसभा निर्वाचनमा जनप्रतिनिधिहरूले भोट ‘क्रस’ गर्ने सम्भावना कांग्रेसका नेताहरू देख्दैनन्।

‘यो राष्ट्रियसभाको निर्वाचन हो, वडाको होइन। मतदाताहरू पार्टी र जनताप्रति जिम्मेवार हुन्छन्। भोट क्रस हुन्छ भनेर कसैले नसोचे हुन्छ,’ कांग्रेसका एक नेताले भने।

ढुंगानाको उम्मेदवारीबाट जे जस्तो असन्तुष्टिहरू देखिए पनि जित उनकै हुनेमा कांग्रेस ढुक्क देखिन्छ।

स्वयं ढुंगाना पनि आफूले सँधै अवसर पाएको भन्ने आरोपमा निराधार रहेको बताउँदै गठबन्धनको भोट दायाँबायाँ नहुनेमा ढुक्क छन्।

कसको कति मतभार

राष्ट्रियसभा सदस्यको दुई सिटका लागि मधेसमा पाँच जना उम्मेदवार छन्। अन्यतर्फ कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका ढुंगाना र महिलातर्फ गठबन्धनबाट जसपाकी पुजा चौधरी चुनावी मैदानमा छन्।

त्यस्तै एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषा चौधरी तथा जनमतका रामशंकर महासेठ पनि अन्यतर्फ प्रतिस्पर्धा गरिरहेका छन्।

ढुंगानाले एमालेकी झा र जनमतका महासेठसँग प्रतिस्पर्धा गरिरहेका छन्।

मधेस प्रदेसमा सबै दलको छुट्टाछुट्टै मतभारको अवस्थालाई विश्लेषण गर्ने हो भने कांग्रेस एक्लै सबैभन्दा अगाडि देखिएको छ।

कांग्रेस एक्लैसँग ३ हजार १६१ मतभार रहेको छ भने प्रतिस्पर्धी एमालेसँग २ हजार ३५५ मतभार छ।

अर्का उम्मेदवार जनमतका महासेठसँग जम्मा ७४६ मतभार रहेको छ।

गठबन्धनमा रहेका दलहरू कांग्रेस, जसपा, लोसपा, एकीकृत समाजवादी, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीसमेतको मतभार जोड्ने हो भने कुल मतभार ७ हजार ५४१ पुग्छ।

कांग्रेससँग ३ हजार १६१, जसपासँग १ हजार ९५, लोसपासँग ९३३, माओवादीसँग ८१९, एकीकृत समाजवादीसँग ५८० र नागरिक उन्मुक्ति पार्टीसँग ५३ मतभार रहेका छन्।

मधेस प्रदेससभामा रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी र स्वतन्त्र गरी १–१ प्रदेस सांसद छन् भने साझा विवेकशील पार्टी १ जना अध्यक्ष र १ जना उपाध्यक्ष छन्। तीनै प्रदेस सांसदको मतभार जोड्दा १४४ हुन्छ।

यी तीन प्रदेसले पनि गठबन्धनलाई मत हाल्ने प्रतिबद्धता जनाएको कांग्रेसका नेताहरूले बताएका छन्। तीन सांसदको मतसमेत आउँदा गठबन्धनको पक्षमा करिब ७० प्रतिशत मतभार हुनेछ।

एमाले र जनमत मिल्ने सम्भावना कति?

कतिपयले अन्य समूहमा गठबन्धनबाट प्रतिस्पर्धा गरिरहेका कांग्रेसका ढुंगानालाई पराजित गर्न अन्तिम समयमा एमाले र जनमत मिल्नसक्ने आकलन गरेका छन्।

यद्यपि यस्तो तालमेल हुनसक्नबारे एमाले र जनमत दुवैले आधाकारिक रूपमा केही बोलेको छैन।

धेरैले गरिरहेको आकलनअनुसारै एमाले र जनमतले तालमेल गरे पनि ढुंगानाको जित लगभग पक्का देखिन्छ।

गठबन्धनमा आवद्ध सबै दलको मतभार जोड्दा ७ हजार ५४१ हुँदा एमाले र जनमतले तालमेल गरे पनि एमालेको २ हजार ३५५ र जनमतको ७४६ जोडदा कुल मतभार ३ हजार १०१ मात्रै हुन्छ।

यो दुवै दलले तालमेल गरे पनि कांग्रेसका ढुंगानालाई हराउन ४ हजार ४४० मतभार अपुग हुन्छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेससभा सदस्य, नगर, उपमहानगर, महानगरका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने व्यवस्था छ।

मधेसमा १०७ जना प्रदेस सांसद, ७७ जना नगर प्रमुख, ७७ जना उपप्रमुख, ५९ जना अध्यक्ष तथा ५९ जना उपाध्यक्ष रहेका छन्।

कांग्रेससँग २२ जना सांसद, ३० मेयर, ३२ उपमेयर, १८ अध्यक्ष र २५ जना उपाध्यक्ष छन्।

त्यस्तै जसपासँग १९ सांसद, ८ मेयर, १० उपमेयर, १७ अध्यक्ष र १७ उपाध्यक्ष छन्।

माओवादीसँग ९ सांसद, ७ मेयर, ५ उपमेयर, २ अध्यक्ष र ४ उपाध्यक्ष छन्।

लोसपासँग ९ सांसद, ७ मेयर, ५ उपमेयर, ८ अध्यक्ष र ४ उपाध्यक्ष छन्।

एकीकृत समाजवादीसँग ७ सांसद, ५ मेयर, ५ उपमेयर र १ अध्यक्ष छन्।

नागरिक उन्मुक्ति पार्टीसँग १ सांसद छन्।

त्यस्तै एमालेसँग २४ सांसद, १९ मेयर, २० उपमेयर, ११ अध्यक्ष र ७ उपाध्यक्ष छन्।

जनमतसँग १३ सांसद, १ मेयर, १ अध्यक्ष र १ उपाध्यक्ष छन्।

साझा विवेकशील पार्टीसँग १ अध्यक्ष र १ उपाध्यक्ष छन् भने राप्रपासँग १ तथा स्वतन्त्र एक सांसद छन्।

त्यस्तै तमलोपाका १ गाउँपालिका अध्यक्ष रहेका छन्।

गठबन्धनको पक्षमा ७० प्रतिशत हाराहारीमा मतभार देखिन्छ भने एमालेसँग २२ र जनमतसँग ७ प्रतिशत मतभार देखिन्छ।

अन्यको मतभार २ प्रतिशत देखिन्छ।

 

Tags: