post-slider post-slider

घातक एक्लेम्पसीया रोगका बारेमा थाहा पाउन किन जरुरी छ?

Image
A A

जमरा ब्रुक्स-पार्मर जुम्ल्याहा बच्चासहित आठ महिनाकी गर्भवती थिइन् र आफ्ना श्रीमान्‌सँग किनमेलमा गएकी थिइन्।

फ्लोरिडा मायामीमा त्यो एउटा सामान्य दिन थियो तर आमा बन्न व्यग्र प्रतिक्षा गरिरहेकी पार्मरलाई बिसन्चो महसुस भइरहेको थियो।

“त्यो दिन बिहानै मलाई टाउको दुखिरहेको थियो र मैले त्यस्तो कहिल्यै पनि महसुस गरेकी थिइनँ। मैले दुखाइ कम गर्न केही दबाइ खाएँ।”

“तर जब हामी स्टोरमा पुग्यौ, मैले मेरो टाउको केही हलुका जस्तो भएको महसुस गरे र मेरा श्रीमान्‌लाई आफ्ना साथीसँगै किनमेललाई निरन्तरता दिन भनेँ र आफू चाहिँ बेन्चमा आराम गरेर बसेँ।”

तर उनको अनुहार देख्ने बित्तिकै श्रीमान् उनी गम्भीर रूपमा बिरामी भएको पत्तो पाए।

कारमा जाँदा जाँदै उनलाई 'सिजर' भयो र अस्पताल लगियो।

चिकित्सकहरूले प्रसूतिका लागि आपत्कालीन शल्यक्रिया गरिरहँदा उनलाई तीन पटक 'सिजर' भयो।

“त्यसपछि म एकै पटक अस्पतालको शय्यामा ब्यूँझेको मात्र सम्झन्छु।”

जमरामा एक्लेम्पसीया भएको पत्ता लाग्यो जुन सम्भवतः उच्च रक्तचापका कारण हुने घातक अवस्था हो। त्यसले मस्तिष्कमा असामान्य किसिमका विद्युतीय तरङ्ग उत्पन्न हुँदा देखा पर्ने र मुर्छा पर्ने 'सिजर' नामक स्वास्थ्य समस्यालाई निम्त्याउँछ।

त्यो पूर्ण रूपमा आश्चर्यलाग्दो थियो किनभने उनलाई कहिल्यै पनि प्रि-एक्लेम्पसीया भएको थिएन। त्यो कम घातक स्वास्थ्य जटिलता हो जुन साधारणतया उक्त जटिलता देखा पर्नुअघि देखिन्छ।

एक्लेम्पसीया र प्री-एक्लेम्पसीया के हो?

प्री-एक्लेम्पसीया साधारणतया गर्भावस्थाको उत्तरार्ध को समयमा देखिन्छ र उच्च रक्तचाप र पिसाबमा प्रोटिन देखा पर्नु त्यसका प्रारम्भिक सङ्केत हुन्।

आमाले नियमित स्वास्थ्य परीक्षण गराउन जाँदा यी विषय उठाइनुपर्छ र यदि त्यसलाई पहिचान गरिएन र अनुगमन गरिएन भने त्यसले एक्लेम्पसीया र एचइएलएलपी सिन्ड्रोम जस्ता अझ गम्भीर समस्याहरू निम्त्याउँछन्।

हालै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले रक्त परीक्षणले प्रीएक्लेम्पसीयाको जोखिममा रहेका महिलाहरू पहिचान गर्नसक्ने जनाएको थियो।

नयाँ परीक्षणले लक्षण देखिएका धेरै गर्भवती महिलामध्ये कसलाई दुई हप्तापछि त्यस्तो समस्या देखा पर्नसक्छ भनेर प्रारम्भिक चेतावनी दिनसक्छ।

आठ महिनाकी गर्भवती अमेरिकी ओलिम्पिक एथलिट टोरी बोइको अकस्मात् निधन भएपछि हालै एक्लेम्पसीयासम्बन्धी चर्चा बढेको छ।

उक्त समस्या अमेरिकामा अश्वेत महिलाहरूमा बढी देखिएको छ र त्यसका कारण सन् २०१६ को ओलिम्पिकमा स्वर्ण पदक जितेकी विश्व च्याम्पियन धाविका को निधन भएको हुनसक्ने ठानिएको छ।

बोइका सहकर्मीहरू एलिसन फेलिक्स र टिआना बार्टोलेटालाई पनि गर्भावस्थामा प्री-एक्लेम्पसीया देखिएको थियो। बोइ जस्तै उनीहरू पनि अश्वेत हुन्।

वास्तविक आँकडा पाउन कठिन भएपनि प्रीएक्लेम्पसीयाका कारण विश्वका ३ देखि ८ प्रतिशत गर्भवती महिला प्रभावित भएको ठानिन्छ।

त्यसको लक्षण पिसाबमा प्रोटिन देखा पर्ने, गम्भीर रूपमा टाउको दुख्ने, देख्न समस्या हुने, करङ मुनि दुख्ने, वाकवाक वा बान्ता आउने, वा अकस्मात् हात, पैताला र खुट्टा सुनिने गर्छ।

संयुक्त राज्य अमेरिकामा अफ्रिकी मूलका अमेरिकी महिलामा प्रीएक्लेम्पसीया हुने दर श्वेत महिलाको तुलनामा ६० प्रतिशत धेरै भएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ।

अफ्रिकी-अमेरिकी जमराले उनका कतिपय लक्षणहरूलाई बेवास्ता गरिएको बताइन्।

“मेरो (शरीर) ज्यादै सुनिएको थियो र जब मैले त्यो कुरा चिकित्सकहरूलाई भन्थेँ उनीहरूले त्यसलाई बेवास्ता गरे। उनीहरूले दुई वटा बच्चा गर्भमा भएकाले सम्भवतः त्यहाँ धेरै तरल पदार्थ भरिएको हुनसक्ने बताए। उनीहरूले मलाई पानी पिउन भनिरहे।”

उपचारपछि स्वास्थ्य लाभ गरिरहँदा जमरालाई आफू मृत्युको निकट पुगेको थाहा भयो।

“म जब ब्यूँझिए, मेरी आमा मेरो छेउमा हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, “तिमीसँग उनीहरूले प्रसूति गराउनुपर्ने बच्चाहरू पनि थिए, त्यही भएर या तिमी वा उनीहरू वा सबै जना जोगाउने भन्ने त्यस्तो परिस्थिति थियो।”

पाँच वर्षपछि सन् २०१५ मा त्यस्तै लक्षणसहित जमरा अर्को पटक गर्भवती भइन्। तर यो पालि आफ्नो अनुभव अलिक राम्रो भएको उनी सुनाउँछिन्।

उनका चिकित्सक श्वेत नभई अफ्रिकी-अमेरिकी थिइन्। जमराले आफूलाई पनि धेरै ज्ञान भएको र आफ्नी चिकित्सकले ‘धेरै पैरवी’ गरिदिएको बताइन्। उनले जातीय पक्षलाई बेवास्ता गर्न नसकिने बताइन्।

“३४ हप्ताको गर्भवती हुँदा मेरो रक्तचाप उच्च थियो र मेरी चिकित्सकले कुनै पनि समय खेर नफाली बच्चा जन्माइ दिइन्।”

“अहिले म नै पैरवी कर्ता भएकी छु र समुदायमा जीवन जोखिममा पार्ने यस्ता अवस्था, जसबारे मलाई पनि पहिले कहिल्यै थाहा थिएन, त्यसका बारे चेतना फैलाउँछु।”

अश्वेत महिलामा जोखिम

एक्लेम्पसीया सहयोग समूहमा जमराले वासिङ्टन डिसीकी एबोनी फोर्डलाई भेटिन्।

मातृ स्वास्थ्य पैरवी कर्ता एबोनी भर्खरै आमा भएकी छन् र उनले दुई महिनाअघि समय पूरा हुनु अगावै आफ्नो दोस्रो सन्तान रोमनलाई जन्म दिएकी थिइन्।

गर्भावस्था र प्रसूतिको समयको आघात पूर्ण क्षण सम्झनुअघि उनले आफ्ना छोरालाई दह्रोसँग समाइन्।

अफ्रिकी अमेरिकी उनलाई पाँच वर्षअघि आफ्नी छोरी रेन जन्माउँदा एक्लेम्पसीया भएको थियो।

“२५ हप्ता हुँदा मैले मेरो कुर्कुच्चा सुनिएको महसुस गरेँ। चिकित्सकलाई जँचाउन जाँदा रक्तचाप पनि उच्च देखियो। म चिन्तित थिएँ र रगत जँचाउनुपर्छ भन्ने लागिरहेको थियो तर चिकित्सकले ‘सबै ठिक छ’ भन्ने कुरा गरे।”

तर चाँडै नै आफ्नो पैताला र हात निक्कै ठूलो भएको र आफूले औँलाबाट विवाहको औँठी समेत निकाल्न नसक्ने अवस्था आएको उनले बताइन्।

उनलाई सास फेर्न पनि गाह्रो भयो र उनको दृष्टि पनि अस्पष्ट हुन थाल्यो।

२६ औँ हप्तामा उनी पुनः परीक्षणका लागि अस्पताल गइन्। “त्यहाँ मैले मेरो रक्तचाप २६२ र १५४ रहेको पाए। चिकित्सकले म कसरी जागै छु भनेर बुझ्न नसकिरहेको बताए।”

एउटा साधारण मान्यता अनुसार उपयुक्त रक्तचापको स्तर ९०/ ६० र १२०/ ८० को बीचमा हुनुपर्ने एनएचएसले जनाएको छ। “मैले मेरो परिवारलाई त्यो खबर सुनाइरहँदा थप परीक्षणहरू गराउनुपर्‍यो। मेरो शरीरका अङ्गहरूले पूर्ण रूपमा काम गर्न छाडेको पाइएको थियो।”

परीक्षणहरूले एबोनीमा हेल्प सिन्ड्रोम देखा परेको देखायो। दुर्लभ प्रकृतिको कलेजो र रगत जम्ने सँग सम्बन्धित त्यस्तो समस्याले गर्भवती महिलाहरूलाई असर पार्छ। त्यसले सेप्सिस र शरीरका अङ्गहरूले काम गर्न छाड्ने अवस्था निम्त्याउँछ।

 “उनीहरूले २६ हप्ता र पाँच दिनपछि शल्यक्रियामार्फत प्रसूति गराउने निर्णय गरे तर त्यसअघि उनीहरूले मलाई कोमामा राख्ने निर्णय लिए।”

“त्यो बेला मेरो जीवन ठूलो सङ्कटमा थियो। मैले सम्झिएको अन्तिम कुरा के थियो भने, मैले मेरा श्रीमान्‌लाई म उनलाई प्रेम गर्छु भन्दै रोएकी थिएँ।”

उनकी छोरी जम्मा ०.८८ तौलसहित जन्मिइन्।

उनले चिकित्सकले आफ्नो उक्त रक्तचापलाई गम्भिरतापूर्वक नलिएको र त्यो साता रगतको परीक्षण समेत नगरेको बताइन्।

त्यसपछि अर्को सन्तान जन्माउन उनले लगभग चार वर्ष कुरिन्। यस पटक, एबोनीले अलग्गै टोलीबाट स्वास्थ्य सहयोग लिइन्।

“उनीहरूले मेरा लागि योजना बनाए र मैले ध्यान दिनुपर्ने लक्षणहरूका बारेमा भने। पछि जब म ३० हप्ताको गर्भवती थिए, फेरी प्री एक्लेम्पसीयाको लक्षण देखिन थाल्यो।”

३१ औँ हप्तामा उनलाई सास फेर्न समस्या देखिन थाल्यो। यसै वर्षको अप्रिलमा ३१ हप्ता पुग्दा उनीहरूले उनको प्रसूति गराए। जन्मँदा उनका छोरा रोमनको तौल ०.९१ केजी थियो।

मातृ मृत्युदर

जमरा र एबोनी दुवै बाँचे पनि धेरै महिलाहरूले ज्यान गुमाएका छन्।

प्रत्येक वर्ष ७० हजार महिला र ५ लाख बच्चाहरूले विश्वव्यापी रूपमा प्री एक्लेम्पसीयासँग सम्बन्धित जटिलता कारण ज्यान गुमाउने गरेको सीडीसीले जनाएको छ।

एक्लेम्पसीया गर्भमा हुर्किरहेको शिशुलाई अक्सिजन र पोषण तत्त्व उपलब्ध गराउने सालनालका कारण देखिने रोग हो,” अक्सफोर्ड विश्वविद्यालयका प्रसूति विज्ञानसम्बन्धी प्राध्यापक मनु भाटिस भन्छन्।

“र, जब महिलाहरूलाई सिजर हुन थाल्छ, उनीहरूलाई ठिक बनाउन र बच्चा जन्माउन अनि आमालाई पनि सन्चो पार्न निक्कै अप्ठेरो हुन्छ।”

उनले अश्वेत महिलाहरूमा गर्भावस्थामा केही फरक जैविक तत्त्वहरू रहेको प्रष्ट पारे।

“यदि तपाईँ अफ्रिकामा हुनुहुन्छ भने त्यहाँ कुपोषणको एउटा तह छ। विभिन्न पोषक तत्त्वको अभाव छ। तर पनि तपाईँको जातीय गुण र अश्वेत पृष्ठभूमिले तपाईँले यो रोगको उच्च जोखिममा राख्छ।”

अमेरिकी स्वास्थ्य मन्त्रालयले एकभन्दा बढी कारणले यस्तो असमानता निम्त्याउने गरेको उल्लेख गरेको छ। संरचनागत जाति वाद, अप्रकट पूर्वाग्रह र मातृ स्याहारमा रहेको फरकपन जस्ता विषयलाई उसले कारण मानेको छ।

प्राध्यापक भाटिसले उनले त्यस्तो पक्षपात देखेको बताएका छन्।

उनी भन्छन्, “अश्वेत वा एशियाली मूलका मानिसहरूलाई त्यसै नकार्ने गरिएको मैले देखेको छु। उनीहरूका चिन्ताहरूलाई बेवास्ता गरिन्छ। उनीहरूलाई श्वेतहरू जस्तै उपयुक्त समयमा नै ध्यान पुर्‍याइँदैन।”

त्यसले गर्दा अश्वेत र एसियाली महिलाहरूलाई क्षति पुगेको उनको भनाइ छ।

एबोनीले राम्रो प्रसूति स्वास्थ्य टोलीबाट आफ्ना चिन्ताहरूको परीक्षण गरिएकोमा भाग्यमानी सम्झिएको बताइन्।

उनले भनिन्, “म सधैँ महिलाहरूलाई उनीहरूका चिन्ता सुन्नेका खालका सहयोगी किसिमका स्वास्थ्य उपचार टोली छान्न सुझाव दिन्छु।”

बीबीसी

Tags: