किम जोङ–अनकी छोरी उत्तर कोरियाको ‘सम्भावित’ उत्तराधिकारी
काठमाडौं- उत्तर कोरियाका नेता किम जोङ–अनकी छोरी उनको ‘सम्भावित’ उत्तराधिकारी भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ।
उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षण र सैन्य परेड हुँदा किम जु–ए आफ्ना पितासँगै उपस्थित हुने गरेकी छन्।
दक्षिण कोरियाको गुप्तर निकाय ‘नेसनल इन्टेलिजेन्स सर्भिस’ ले किम जु–ए उत्तर कोरियाली नेता किमकी उत्तराधिकारी हुने कुरा पहिलोपटक भनेको हो।
यद्यपि उक्त निकायले नेतृत्वको उत्तराधिकारीसँग सम्बन्धित प्याङयाङका सबै सम्भावित योजना आफूले नियालिरहेको जनाएको छ।
किम जु–ए स्न २०२२ को अन्त्यतिर पहिलोपटक सार्वजनिक समारोहमा देखा परेकी थिइन्। त्यसपछि उनी चर्चामा रहँदै आएकी छन्।
‘पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि किम जु–एका सार्वजनिक गतिविधि र उनले प्राप्त गरेको सम्मानको विस्तृत विश्लेषणका आधारमा अहिले उनी सबैभन्दा सम्भावित उत्तराधिकारी हुन्,’ नेसनल इन्टेलिजेन्स सर्भिसले भनेको छ।
किम जु–ए उत्तरा कोरियाका शासककी माहिली छोरी हुन्।
उनको उमेर १० वर्ष भएको ठानिएको छ।
गत महिना आयोजित एउटा पत्रकार सम्मेलनमा दक्षिण कोरियाका एक मन्त्रीले पनि उत्तर कोरियाली नेताको सम्भावित उत्तराधिकारीबारे उस्तै आकलन गरेका थिए।
‘किम जोङ–अनकी छोरीलाई निरन्तर महत्व दिइनुलाई उत्तर कोरियाले विषम आन्तरिक अवस्थाका बीच चाँडोचाँडो उत्तराधिकारीको उद्देश्य खुलाउन खोजेको प्रमाण मान्न सकिन्छ,’ एकीकरणसँग सम्बन्धित मामिला हेर्ने मन्त्री किम युङ–होले भनेका थिए।
उत्तर कोरियामा वरिष्ठतम व्यक्तिलाई मात्र ‘सम्मानित’ विशेषण प्रयोग गरिन्छ।
यसअघि उत्तराधिकारी बन्ने निश्चित भएपछि मात्र किमलाई ‘सम्मानित कमरेड’ भन्न थालिएको थियो।
उत्तर कोरियामा सर्वसाधारण मानिसहरूलाई किमको वंश पवित्र भएको बताउने गरिन्छ। त्यसको अर्थ देशमा उक्त परिवारले मात्र शासन गर्न पाउँछ भन्ने हो।
किम देशको शासनसत्ताको नेतृत्व आफ्नो परिवारभित्र चौथो पुस्तालाई हस्तान्तरण गर्न पाइयोस् भन्ने चाहन्छन्।
डिसेम्बरमा उत्तर कोरियाले ठोस इन्धनबाट चल्ने ह्वासङ–१८ अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्दा किम जु–ए आफ्ना पितासँग देखा परेकी थिइन्।
उत्तर कोरियाले गत नोभेम्बरमा जासुसी भूउपग्रह प्रक्षेपण गर्दा पनि उनी किमसँगै उपस्थित थिइन्।
किम जु–एलाई चाँडै उत्तराधिकारीका रूपमा चिनाएर शासनमा पुग्नुअघि नै उनी स्थापित भइसकुन् भन्ने उद्देश्य राखिएको हुनसक्ने विश्लेषकहरूको भनाइ छ।
उत्तर कोरियामा महिलाहरू नेतृत्वमा पुगेका छैनन्। त्यसैले पितृसत्तात्मक समाजमा हुने पूर्वाग्रह हटाएर किम जु–एलाई सजिलो बनाइदिन पनि त्यसो गरिएको हुनसक्छ।