post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : आजदेखि प्रचारप्रसारमा निषेध

Image
A A

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि प्रचारप्रसारमा निषेध लगाएको छ।

यही माघ ११ गते हुने निर्वाचनका लागि मतदान नहुन्जेलसम्म सोमबार राति १२ बजेदेखि लागु हुनेगरी आयोगले प्रचारप्रसारमा निषेध लगाएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी प्रचारप्रसारमा निषेध लगाइएको जानकारी दिए।

यो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन।

प्रवक्ता पौडेलले यो अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने बताएका छन्।

राष्ट्रियसभाका १९ सदस्यको पद आगामी फागुन २१ गतेदेखि सकिँदैछ।

कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्थाअनुरूप ११ माघमा निर्वाचन हुन लागेको हो।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेसमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदात हुने आयोगले जनाएको छ।

 

Tags: