post-slider post-slider

पदाधिकारी–विद्यार्थी संगठनको जुधाइ, अन्योलमा बिई प्रवेश परीक्षा

Image
A A

काठमाडौं- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी संगठनबीचको विवादले यसअघि भएको सहमति अन्योलमा परेको छ।

संस्थानका पदाधिकारी र विद्यार्थी संगठनबीच सोमबार राति ११ बजे शुल्कवृद्धि नगर्ने र यही असोज २२ गते स्नातक तह (बिई / आर्क) को प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो।

यही सहमतिअनुसार डीनको कार्यालयले प्रवेश परीक्षाका लागि सूचनासमेत जारी ग¥यो।

तर, संस्थानका डिनले दबाबमा हस्ताक्षर गरेको भन्दै अध्ययन संस्थानका अन्य पदाधिकारी अस्वीकार गरेपछि सहमति कार्यान्वयन नै शंकाको घेरामा परेको छ।

संस्थानका जिम्मेवार पदाधिकारी कोही पनि सम्पर्कमा आउन चाहेका छैनन्। संस्थानमा चार जना सहायक डिन छन्।

तीमध्येका एक जना सहायक डिनले नाम उल्लेख नगर्ने शर्तमा भने,‘सोमबार राति डिन सरले ज्यान जोगाउन बाध्य भएर हस्ताक्षर गर्नुभएको हो। हामी कसैलाई पनि सहमति स्वीकार्य छैन। त्यसैले असोज २२ गते प्रवेश परीक्षा सञ्चालन हुँदैन।’

विद्यार्थी संगठनसँग भएको सहमतिपत्रमा संथनका तर्फबाट डिन प्राध्यापक डा.शशीधर जोशी र सहायक डिन प्राध्यापक डा.सुशील बज्राचार्यले हस्ताक्षर गरेका छन्।

त्यस्तै सहमतिपत्रमा नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियुलगायतका ११ विद्यार्थी नेताले हस्ताक्षर गरेका छन्।

पुरानै शुल्कमा नयाँ भर्ना गर्ने र नयाँ भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन चाहनेले असोज १८ गतेसम्मका लागि आवेदनको म्याद थप्ने तथा असोज २२ गते प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो।

सहमतिपछि डिनको कार्यालयको लेटरप्याडमा प्रवेश परीक्षासम्बन्धी सूचना निकालिएको थियो।

एक जना सहायक डिनले आफूहरूलाई विद्यार्थी संगठनहरूले निकै आतंकित पारेको आरोप लगाउँदै आफूहरू जिम्मेवारीबाट मुक्त हुन चाहेको बताएका छन्।

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहका लागि शुल्क ७ लाख ७५ हजार रूपैयाँ पु¥याउने निर्णय गरेको थियो।

अहिले अध्ययन शुल्क ३ लाख १८ हजार रूपैयाँ रहेको छ।

वार्षिक झन्डै १५ करोड रूपैयाँ घाटा भइरहेको भन्दै संस्थानले शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो। त्यसका विरूद्धमा विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका थिए।

स्ववियुलाई जिम्मेवारी हस्तान्तरणको घोषणा

संस्थानका पदाधिकारी र विद्यार्थी संगठनहरूबीच विवाद चलिरहेकै बेला पुल्चोक क्याम्पसका विभिन्न ६ विभागीय प्रमुखले आफूहरूको जिम्मेवारी स्वतन्त्र विद्यार्थी युनियनलाई हस्तान्तरण गरेको घोषणा गरेका छन्।

उनीहरूले यस्तो घोषणा गर्दै संयुक्त पत्र क्याम्पस प्रमुखलाई बुझाएका छन्।

असोज १२ गते पुल्चोक क्याम्पस, थापाथली क्याम्पस र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भर्ख निर्वाचित स्ववियुले लिने’ भन्ने उल्लेख भएको हुँदा आफूहरूले विभागीय प्रमुखबाट हटेर स्ववियुलाई विभाग चलाउनका लागि मार्गप्रशस्त गर्न जिम्मेवारी सुम्पिएको विभागीय प्रमुखहरूले जारी गरेको संयुक्त पत्रमा उल्लेख छ।

उनीहरूले आफूहरूले हाल गर्दै आएको काम स्थगन गरी स्ववियुलाई नै जिम्मा लगाउन प्राध्यापक संघ र कर्मचारी संघको पनि समर्थन रहेको उल्लेख गरेका छन्।

पत्र बोधार्थ त्रिविका उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालय र स्ववियु सभापतिहरूलाई दिइएको छ।

Tags: