post-slider post-slider

‘नेपाली भूमिको विकल्प खोज्ने प्रस्ताव गरेको छैन, कुनै कन्फ्युजन नहोस्’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा नेपाली भूभाग छोडेर विकल्प रोज्ने विषयमा कहिँ कुनै छलफल नभएको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘माननीय सदस्यहरूलाई बडो प्रस्टसँग भन्न चाहन्छु, मैले कहिँ पनि विकल्प यो हुन्छ र यसमा जाऔं भनेर प्रस्तावित गरेको छैन, प्रष्ट होस्, प्रष्ट होस्,कहिँ कुनै कन्फ्युजन नरहोस्’, उनले भने,‘हामीले भनेका छौं कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो, नेपालको भूमि हो भन्ने कुरा स्थापित गर्ने कुरामा म प्रष्ट छु। र, मैले त्यहीअनुसार आफ्नो भूमिका खेलेको छु।’

भारतको शक्तिशाली प्रधानमन्त्रीले सीमा समस्या हल गरिन्छ भन्ने कुरा आफैंले घोषणा गरेको पहिलोपटक भएको यसमा खुसी मान्नुपर्ने उनले बताए।

सिमानाको विषयमा गम्भीर रूपमा कुरा भएको उल्लेख गरे। उनले भने,‘सिमानाको विषयमा सकारात्मक परिणाम आउने गरी गम्भीर रूपमा कुरा भएको छ। दुवै देशका प्रधानमन्त्री एकै ठाउँमा उभिएर समाधान गरिन्छ भनेको पहिलोपटक हो।’
भूमि यताउति गरिएको भनेर माननीयहरूले प्रश्न उठाउँदा आफू चिन्तित र पीडित भएको उनले बताए। तथ्य र तर्कलाई घुमाउने कोसिस नगर्न प्रचण्डले आग्रह गरे।

योपटकको भारत भ्रमण सफलमात्रै नभएर परिणामूखी पनि भएको प्रचण्डले दाबी गरे।

‘योपटकको भ्रमण सफलमात्रै भएको छैन परिणाममूखी पनि भयो, यो भ्रमण एकअर्कालाई घोचपेच गर्ने र एकअर्कालाई कमजोर देखाउने उद्देश्यभन्दा कामकाजी विषयमा आर्थिक, ऊर्जा, पर्यटन, सीमाजस्ता विषयमा बढी गयो,’ प्रचण्डले भने,‘राजनीतिक मामिलामा पनि कुरा भयो। राजनीति भएन भन्ने होइन। तर, राजनीतिक मामिलामा कुरा यसरी भयो कि राम्रो विश्वासको वातावरण बनाएर आउने दिनमा राजनीतिक विषयहरू सम्बोधन गर्ने गरी भयो।’

आफ्नो भारत भ्रमण नेपालका लागि र सबै नेपालीका लागि, आर्थिक क्रियाकलापलाई नयाँ गति दिनका लागि सफल भएको उनले बताए।

भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने सामान्य कुरा नभएको प्रचण्डको भनाइ छ।

 

 

Tags: