post-slider post-slider

इजरायल–हमास संघर्ष : थप १३ इजरायली र ४ थाई नागरिक रिहा

Image
A A

काठमाडौं- गाजामा इजरायल–हमासबीच संघर्षविरामको तेस्रो दिन थप १३ जना इजरायली र चार जना थाई बन्धकहरू रिहा भएका छन्।

यसअघि इजरायलले गाजामा पठाइएका मानवीय सहायता सामग्री रोकेको भन्दै हमासले उनीहरूलाई मुक्त गर्न ढिलाइ गरेको थियो।

कतार र इजिप्टको मध्यस्थतापछि उनीहरूलाई रिहा गर्न हमास सहमत भएको थियो।

हमासले उनीहरूलाई आइतबार रेडक्रससमक्ष हस्तान्तरण गरेको हो।

कतारले मध्यस्थता गरेको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेब्बर संख्यामा इजरायलले प्यालिस्टिनी बन्दीहरू छाड्ने गरेको छ।

द्विपक्षीय सहमतिअनुसार शुक्रबार हमासले १३ इजरायली, १० थाई र एक फिलिफिनोसहित २४ बन्धकलाई मुक्त गरेको थियो भने इजरायलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएर लगेको थियो।

त्यसयता इजरायलले गरेको हमलामा १४ हजार ५ सय बढी मारिएको गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दुवै पक्षले युद्ध नसकिएको भन्दै लडाइँ पुनः सुरू हुने बताए पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले अस्थायी युद्धविराम लम्बिनसक्ने वास्तविक सम्भावनाहरू रहेको बताएका छन्।

इजिप्टसमेत दुवै पक्षबाट अस्थायी युद्धविराम एक वा दुई दिन लम्बिनसक्ने सकारात्मक संकेत पाएको जनाएको छ।

 

Tags: