post-slider post-slider

अन्त्य भएको हो शेखर–गगनबीचको ‘फाटो’?

Image
A A

काठमाडौं- सत्ता गठबन्धनको बैठकमा कोसीको मुख्यमन्त्री माओवादी केन्द्रलाई सुम्पिने निर्णयमा पार्टी सभापति शेरबहादुर देउवाले सहमति जनाएपछि नेता शेखर कोइराला विद्रोहमा उत्रिए।

भागबन्डामा कोसीको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति अघि नै भइसकेको स्मरण गराउँदै कोइरालाले आफूनिकट केदार कार्कीलाई अघि सारे।

उनको यो कदमलाई प्रदेससभाको सबैभन्दा ठूलो नेकपा एमालेले पनि साथ दियो। र, कार्की प्रदेसको मुख्यमन्त्री नियुक्त भए।

कार्कीलाई मुख्यमन्त्री बनाउन पार्टीभित्रै विद्रोह गरेका कोइरालाले त्यो बेला आफ्नै समूहका महामन्त्री गगन थापाको साथ पाएनन्। उनको त्यो विद्रोहमा महामन्त्री थापा कहीँकतै देखिएनन्।

यहाँसम्म कि कार्कीलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा नेता कोइराला र थापाबीच सामान्य छलफलसमेत भएको थिएन।

छलफलका लागि बोलाउँदा महामन्त्री थापा आउन नमानेको कोइरालानिकट नेताहरूको भनाइ थियो।

त्यही बेलादेखि एउटै समूहमा रहेका दुई प्रभावशाली नेताहरू कोइराला र थापाबीचको सम्बन्धमा फाटो आएको आकलनहरू भए। इतरपक्षका दुई प्रभावशाली नेताहरूबीच बढेको दूरीले संस्थापनपक्ष हौसिएको थियो।

त्यसयता इतरसमूह औपचापरिक रूपमा एकै ठाउँमा बसेर छलफलसमेत गरेन। हुनत कोसीको मुख्यमन्त्री प्रकरणअघि पनि इतर समूहको भेला सम्भव हुनसकेको थिएन।

शेखर–गगनबीच फाटो बढेको विषयले चर्चा पाइरहेकै बेला बुधबार इतरसमूहका नेताहरूको बैठक भयो, बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा।

सभापति देउवाले शुक्रबारका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कसरी प्रस्तुत हुने विषयमा भेला बोलाइए पनि मुख्य उद्देश्य भने शेखर–गगनबीच बढेको दूरी अन्त्य गर्ने थियो।

बुधबारको भेलापछि नेताहरूले इतरसमूहमा कुनै समस्या नभएको दाबी गरेका छन्। यो समूहका नेता कोइराला आफैंले महामन्त्री थापासँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने निराधार हल्लामात्रै भएको दाबी गरे।

बैठकपछि कोइरालाले महामन्त्री थापासँगको आफ्नो सम्बन्धमा कुनै समस्या नभएको बताए।

‘उहाँ र मेरो काम गर्ने तरिका फरक होला, तर एजेन्डामा हामी एकै ठाउँमा छौं,’ उनले भने,‘हाम्रो सम्बन्धमा फाटो आएको भन्ने हल्लामत्रै हो। त्यस्तो केही छैन।’

कोइरालाले बोलाएको भेलामा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेस सभापतिलगायत तीन दर्जन नेता सहभागी थिए। भेलामा नेताहरूले पार्टीको संस्थापनइतर पक्षलाई बलियो बनाएर अघि बढ्नुपर्ने मत राखेका थिए।

भेलामा कोइराला र महामन्त्री थापाबीच पछिल्लो समयदेखिएको संवादहीनताको विषयले पनि प्रवेश पायो। दुई नेताबीच लामो समयदेखि जारी संवादहीनताका कारण नकारात्मक सन्देश प्रवाह भइरहेको सहभागीहरूको भनाइ थियो।

महामन्त्री थापाले आफूहरूबीच संवादहीनताका कारण समस्या देखिए पनि मूलभूत रूपमा एकै ठाउँमा रहेको बताए।

उनले भने,‘हाम्रो बीचमा छलफल कम हुँदा समस्या देखिएका हुन्। मूलभूत रूपमा हामी सबै एकै ठाउँमा छौं। पार्टीभित्रको सुझाव र सुशासनको सवालमा पनि एकै ठाउँमा छौं। तर, कार्यशैलीको सवालमा केही असमझदारी होलान्, संवादबाट हल गर्छौं।’

थापाले कोइरालालाई नेता मानेर जान आफूलाई कुनै समस्या नभएको बताए।

कोइरालालाई संसदीय दलको नेतामा प्रस्ताव

इतरपक्षको भेलामा फेरि एकपटक संसदीय दलको नेता फेर्ने विषय उठेको छ। यसअघि महामन्त्री थापा आफैं संसदीय दलका नेता बन्न चाहेका थिए। र, उनले यसका लागि पार्टी सभापति देउवासँग चुनावी प्रतिस्पर्धामै उत्रिए।

त्यो बेला अनामनगरको होटल बसेरमा भएको इतरसमूहको बैठकमा थापालाई संसदीय दलको नेता र कोइरालालाई १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने सहमति जुटेको थियो।

तर, संसदीय दलको नेताका लागि भएको मतदानमा आफ्नै समूहबाट समेत सबै मत नपाएपछि थापा असन्तुष्ट बनेका थिए। उनले आफ्नो यो असन्तुष्टि कैयौंपटक सार्वजनिक रूपमै पोखिसकेका छन्।

बुधबार भएको भेलामा थापाले नेता कोइरालाई संसदीय दलको नेतामा प्रस्ताव गरे।

संसदीय दलको नेता फेर्नुपर्ने भन्दै उनले यसका लागि कोइरालालाई प्रस्ताव गरेका हुन्।

‘हामी एकताबद्ध भएर संसदीय दलको नेता फेर्न लागौं। मैले प्रयास गरेको हो सकिनँ। शेखर दाइलाई संसदीय दलको नेतामा म सहयोग गर्न तयार छु। त्यसैले जतिसक्दो छिटो संसदीय दलको नेता परिवर्तन गरौं,’ थापाले भने।

२०७८ पुस ६ मा संसदीय दलको नेतामा सभापति देउवासँग थापाले प्रतिस्पर्धा गरेका थिए। देउवाले ६४ मत ल्याएर दलको नेतामा निर्वाचित हुँदा थापाले मात्रै २५ मत पाएका थिए।

त्यतिबेला दलको नेतामा कोइराला र थापाबीच लामो रस्साकस्सी भएको थियो। नेताहरूको दबाबपछि १५ औं महाधिवेशनमा आफूलाई सभापति बनाउने प्रस्तावमा कोइराला ब्याक भएर थापाको प्रस्तावक बने।

महामन्त्री थापाले १५ औं महाधिवेशनमा पूर्वसंस्थापन पक्षलाई संस्थापनपक्ष बनाउन आफू सबैखाले त्याग गर्न तयार भएको बताएका छन्।

उनले भने,‘१५ औं महाधिवेशनमा पूर्वसंस्थापन पक्षलाई संस्थापन पक्ष बनाउन मैले के त्याग गर्नुपर्छ म तयार छु। तर, हामी आफैंआफैं भिड्नुभएन। एकताबद्ध हुनुप¥यो। मलाई जिस्क्याउने काम गर्नु भएन।’

महामन्त्री थापाले १५ औं महाधिवेशनमा सभापतिका लागि आफ्नो समूहबाट कोइरालालाई अघि सार्नुपर्ने अवस्था सिर्जना भए त्यसका लागि तयार भएको संकेत गरेका छन्।

महामन्त्री थापाको प्रस्तावबारे भने नेता कोइरालाले कुनै प्रतिक्रिया नदिएको एक नेताले बताए।

 

Tags: