post-slider post-slider

बाढी-पहिरोमा परेका १७ हजारबढीको सकुशल उद्धार

Image
A A

काठमाण्डौं - मुलुकभरबाट बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपदमा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ।

विपदमा खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकबाट गरी बिहीबार बिहानसम्म १७ हजार भन्दाबढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए।

उनले विपदमा परी बेपत्ता परेका २२ जनाको खोजी कार्य जारी रहेको जानकारी दिँदै घटनामा पुरिएर मुलुकभर घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरूमा निःशुल्क उपचारको प्रवन्ध गरिएको बताए।

'घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किसक्नु पनि भएको छ,' प्रवक्ता तिवारीले भने, 'विपदका बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्वारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहतसमेत वितरण गरिएको थियो।'

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्याबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ।

'प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, ज्येष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर यो अवधिमा उद्धार कार्य गरियो,' तिवारीले भने, 'खोज तथा उद्धारमा काम अन्तिम चरणमा पुग्नुका साथै बेपत्ताको खोजी तीव्र रुपमा भइरहेको छ।'

त्यसैगरी, गृह मन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेका छन्।

उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई उद्धार, राहत वितरण र घाइतेहरूको स्वास्थ्य उपचारमा विषेश ध्यान दिन निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुहरूको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरूसित पनि छलफल गरेका छन्।

त्यस्तै, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपदमा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायताबापत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरू गरिएको छ। 

प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरूबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ। अवरुद्ध सडक पुनः सुचारु गर्न पहल हुनुका साथै पहिरोको जोखिम रहेका राजमार्गमा सुरक्षा व्यवस्था समेत मजबुद पारिएको छ।

सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपदमा परेका नागरिकहरूको सहजीकरणका लागि कार्यदल खटाएको छ। कार्यदललाई प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ।

Tags: