post-slider post-slider

अल हिलालबाट सान्तोस फर्किँदै नेयमार

Image
A A

काठमाडौं - ब्राजिलका सुपरस्टार फुटबलर नेयमार जुनियर आफ्नो पूर्वक्लब सान्तोस फर्किने भएका छन्।

ब्राजिलका खेल पत्रकार सिएल मेर्लोले नेयमार र क्लब सान्तोससँग सहमति भइसकेको दाबी गर्दै अब अल हिलालसँग नेइमारको सम्झौता रद्ध गर्ने प्रक्रिया सुरू भएको बताएका छन्। मेर्लो ब्राजिलका फुटबलरको ट्रान्सफर सम्बन्धी रिपोर्ट गर्ने भरपर्दो पत्रकार मानिन्छन्।

करिब एक वर्षको इन्जुरीपछि खेलमा फर्किएका नेयमार फेरि घाइते भएपछि अल हिलालले उनलाई किनारा लगाउन खोजेको थियो। अब अल हिलालले नेयमारसँगको सम्झौता जनवरीमा रद्ध गर्ने विभिन्न रिपोर्टमा दाबी गरिएको छ। अल हिलालका लागि कुल ७ खेल खेलेका नेयमारले साउदी लिगमा भने केवल ३ खेल खेलेका छन्। 

अल हिलालले २०२३ मा नेयमारलाई फ्रेन्च क्लब पिएसजीबाट ९० मिलियन युरो तिरेर भित्र्याएको थियो। अल हिलालले नेयमारलाई वार्षिक करिब सय मिलियन युरो पारिश्रमिक दिने गर्दछ।

नेषमार खेल्न नसक्ने भएपछि अल हिलालले आफ्नो ठूलो आर्थिक दायित्वबाट बच्न सम्झौता रद्ध गर्ने प्रक्रियामा अगाडि बढेको बताइएको छ।    

सान्तोसले नेयमारसँगको सम्झौता ब्राजिलको सिरी बी का खेल सकिएपछि घोषणा गर्ने दाबी गरिएको छ। सिरी बी मा शीर्ष स्थानमा रहेको सान्तोसले आफ्नो यस सिजनको अन्तिम खेल नोभेम्बर २५ मा खेल्दैछ। गत सिजनमा सिरी बी मा रेलिगेट भएको सान्तोस यस सिजनमा भने सिरी ए मा बढुवा हुने निश्चित रहेको छ।

नेयमारले २००९ मा सान्तोसका लागि डेभ्यू गरेका थिए। २०१३ मा बार्सिलोना जानुअघि नेयमारले सान्तोसका लागि २२५ खेलमा १३६ गोल गरेका थिए।

सो  अवधिमा नेयमारले सान्तोसमा तीन सिजन सिरी ए को उपाधि जितेका थिए भने एक सिजन उपविजेता बनेका थिए। त्यस्तै, एक सिजन कोपा ब्राजिल र २०११ मा कोपा लिबरटाडोरेज जितेका थिए।       

Tags: