post-slider post-slider

सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन, अन्य भूभागबाट कहिले बाहिरिएला?

Image
A A

काठमाडौं- सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार सुदूरपश्चिमका सबै भूभाग र कर्णाली प्रदेशका पश्चिमी भूभागबाट मनसुन बाहिरिएको हो।

देशका अन्य भूभागमा भन‍े मनसुनको प्रभाव कायम छ। बाँकी क्षेत्रहरूबाट पनि मनसुन बाहिरिन अब धेरै दिन नलाग्ने मौसमविद् सञ्जिव अधिकारी बताउँछन्।

पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ। नेपालमा एक दिन ढिला गरी जुन १४ (जेठ ३१ गते)मनसुन भित्रिएको थियो। सामान्यतया अक्टोबर २ सम्म मनसुन बाहिरिन्छ। तर यसपालि पाँच दिन ढिला गरी देशका आंशिक क्षेत्रबाट मनसुन बाहिरिएको हो।

मौसमविद् अधिकारीका अनुसार कुनै वर्ष देशभरबाट एकसाथ मनसुन बाहिरिएको भए पनि यसपालि सुदूरपश्चिम  र कर्णालीका पश्चिमी भूभागबाहेक अन्य स्थानबाट बाहिरिनसकेको बताए।

मनसुन बाहिरिएपछि सुदूरपश्चिमी भूभागमा तत्काल पानी पर्ने सम्भावना छैन। देशैभरी पनि लामो झरी पर्ने र भारी वर्षा हुने सम्भावना पनि नरहेको मौसमविद् अधिकारीले बताए।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

कोशी, मधेश, बागमती र  लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Tags: