post-slider post-slider

जनमत पार्टी सरकारमा सहभागी हुँदै

Image
A A

काठमाडौं- सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ।

जनमत पार्टीले सांसद अनितादेवी साहलाई सरकारमा पठाउन लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रबाट सरकारमा गएकामध्ये एक जनालाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउन लागिएको हो।

अध्यक्ष राउतसँग केही दिनअघि भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले  जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर पनि जनमत पार्टीलाई सरकारमा सहभागी गराउने बताएका थिए।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका अब्दुल खानले रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए।

त्यसयता जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले निरन्तर प्रयास गरिरहेका थिए।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले सरकारमा सहभागी हुने विषय आजभोलिमा टुंगिने बताए।

‘हामीले एक महिनाअगाडि सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकेका छौं। बल प्रधानमन्त्रीको कोर्टमा छ,’ आयोमेलसँग यादवले भने,‘उहाँले अब कहिले बोलाउनुहुन्छ त्यही दिन सरकारमा सहभागी भइहाल्छौं। आजभोलिमा टुंगो लाग्ला।’

प्रवक्ता यादवले यसअघि कृषि र उद्योग मन्त्रालयमा आफूहरूले दाबी गरे पनि सरकारको स्थिरताका लागि अडान नराखेको बताए।

‘उद्योग र कृषिमा हाम्रो दाबी थियो, त्यो पाइएन। यतिबेला कुनै पनि मन्त्रालय खाली छैन,’ उनले भने,‘अब प्रधानमन्त्रीज्यूले कुन मन्त्रालय खाली गराउनु हुन्छ सपथग्रहणपछि मात्रै थाहा हुन्छ। हामीले यही मन्त्रालय चाहिन्छ भनेका छैनौं। प्रधानमन्त्रीले जुन मन्त्रालय खाली गराउन सक्नुहुन्छ त्यसैमा जाने कुरा छ।’

 

Tags: