post-slider post-slider

भारतको संसदमा सुरक्षा चुक?

Image
A A

काठमाडौं- बुधबार भारतीय संसदमा भएको सुरक्षाचुकपछि त्यहाँको सुरक्षा व्यवस्थाका लागि गरिएको प्रावधानमाथि प्रश्न उठिरहेको छ।

लोकसभा बैठकको शून्यकाल चलिरहेको बेला दर्शकदीर्घामा बसेका दुई युवक सांसदहरूको स्थानमा हाम्फालेपछि यो सुरक्षाचुक भएको हो।

दुवै युवकले सभाहलभित्र रंगीन धुँवा उडाएका थिए। केही सांसदले उनीहरूलाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाएका थिए।

प्रहरीले दुवै युवकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

लोकसभा बैठकको त्योबेला भइरहेको प्रत्यक्ष प्रसारणमा उनीहरूमध्ये एक जना सदनको बेन्चमाथि कुदिरहेका थिए। यो घटना संसथमाथि सन् २००१ मा भएको हमलाकै दिन भएको हो।

भारतीय सञ्चारमाध्यमहरूले यो घटनामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताएका छन्।

सुरक्षाचुक भएका कारण लोकसभाको दर्शकदीर्घा लबी यतिबेला चर्चामा रहेको छ।

बैठक चलिरहेको बेला दर्शकदीर्घाको लबीमा बस्न सांसदकै सिफारिसमा सर्वसाधारणलाई पास उपलब्ध गराउने व्यवस्था रहेको छ।

सामान्यतया आफ्नो क्षेत्रको सांसदबाट सिफारिसपत्र लिएर सर्वसाधारणले संसद सचिवालयबाट दर्शकदीर्घाका लागि पास पाउने गरेका छन्। सांसदको पत्रविना कुनै सर्वसाधारणले पास पाउन सक्दैनन्।

दर्शक वा आफ्नो अतिथिलाई दर्शकदीर्घाको पास बनाउन सांसदले ‘सेन्ट्रलाइज्ड पास इस्यु सेल’ मा आवेदन दिनुपर्ने हुन्छ।

यो आवदेन अनलाइन पनि दिनसकिने व्यवस्था छ।

नियमअनुसार आफूसँग परिचित व्यक्तिलाई मात्रै कुनै पनि सांसदले दर्शकदीर्घाको पास दिलाउनुपर्ने हुन्छ।

दर्शकदीर्घामा हुने कुनै पनि अप्रिय घटना वा अवान्छनीय व्यवहारका लागि पासका लागि सिफारिस गर्ने सांसद नै जिम्मेवार हुनुपर्ने व्यवस्था छ।

बुधबार दर्शकदीर्घाबाट बेन्चमा हाम्फाल्ने व्यक्ति सागर शर्माले सत्तारुढ दल बिजेपीका सांसद प्रताप सिन्हाको सिफारिसमा पास प्राप्त गरेको बताइएको छ।

दर्शकदीर्घामा प्रवेश गर्ने सामान्इतः एक बैठकका लागि पास जारी गरिन्छ जसमा दर्शक बढीमा एक घन्टासम्म बस्न पाउँछन्।

पास जारी गर्नुअघि सम्बन्धित व्यक्तिका बारेमा गहनताका साथ जाँच गरिन्छ र निवेदनमा त्यो व्यक्तिबारे सबै जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ।

संसदमा आउने दर्शकलाई कैयौं स्थानमा भौतिक परीक्षण गर्नुका साथै मेटल डिटेक्टरबाट पनि जाँच गरिन्छ।

बुधबार भएको घटनालाई जानकारहरूले सुरक्षामा ठूलो चुक भएको बताउँछन्।

 

Tags: