.png)

आज माघे सक्रान्ति पर्व, देशभर धूमधाम मनाइँदै

काठमाडौं - आज माघे सङ्क्रान्ति, देशभरि धुमधामसाथ मनाइँदै छ।
सक्रान्तिहरूमा साउने संक्रान्तिपछि माघे संक्रान्तिको विशेष महत्व रहेको छ। आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछ।
आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ।
मगर समुदायले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा लिन्छन्। सो समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा रहेको छ भने थारू समुदायले पनि माघी धुमधामका साथ मनाउँछन्।
थारु समुदायमा पुस महिनाको अन्तिम दिन ‘जिता मरना’ भन्दै सुँगुर काट्ने चलन रहेको छ। यसरी काटिएको सुँगुरको मासु सामुदायिक रूपमा ‘धमार गीत’ गाउँदै रमाइलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन रहेको छ।
नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउँछन्। आज पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला सुरू भएको मानिन्छ।
आज विशेष गरी तिलका परिकार, तरूल, चाकु खाने गरिन्छ। विज्ञानले पनि तिल र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ।
हिन्दु धर्म अनुसार तिल होम होमादीमा चरुको रूपमा, पूजामा र दानमा पनि प्रयोग गरिन्छ। कुनै पितृ कर्म अनि शुभ कार्यका लागि तिल अपरिहार्य रहेको छ।
आजबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो बढाउने र हिउँद घट्दै जानेछ।
सनातन संस्कारमा जलाशयहरूमा गरिने माघमा गरिने स्नानको विशेष महत्त्व रहेको छ। जसलाई मकर स्नान भनिन्छ। मकर सङ्क्रान्तिबाट सुरू हुने यस स्नान माघ महिनाभरि नै जारी रहन्छ।
उता, महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो। तर, अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा शाष्त्रमा लेखिएको छ।
माघे सक्रान्तिको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।