post-slider post-slider

मौलापुर नगरपालिकाकी मेयर रिना साह पदमुक्त

Image
A A

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ।

मंगलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो।

साह नेकपा (एमाले) बाट निर्वाचित भए पनि दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको हो।

गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा साह नेकपा(एमाले) बाट प्रमुख पदमा निर्वाचित भएकी थिइन्।

पति प्रभु साहले एमाले परित्याग गरेर आफ्नो नेतृत्वमा नेपाल जनता पार्टी स्थापना गरेपछि उनी यही पार्टीमा आवद्ध भएकी थिइन्।

निर्वाचित भएको पार्टी परित्याग गरेर अर्को दलको सदस्यता लिएपछि उनको प्रमुख पद गएको हो।

राजनीतिक दलसम्मबन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको आयोगले जनाएको छ।

पार्टी त्याग गरेको र अन्य पार्टीको सदस्यता लिएको भनी एमाले केन्द्रीय समितिको निर्णयसहितको प्रतिलिपि आयोगमा जानकारी प्राप्त भएपछि साह निर्वाचित भएको पद रिक्त भएको आयोगले बताएको छ।

‘मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दलसम्मबन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम २ बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त हुने भएको भनी आयोगबाट मिति २०८०/६/२९ गते निर्णय भएको हुँदा यो सूचना प्रकाशन गरिएको छ,’ आयोगले सूचना प्रकाशन गरेर जनाएको छ।

 

Tags: