post-slider post-slider

इजरायल र हमास केही बन्धक रिहा गर्न सहमत, छुट्लान विपिन जोशी?

Image
A A

काठमाडौं- हमास र इजरायलबीच केही बन्धकहरू छोड्ने र केही दिनका लागि संघर्षविराम गर्ने विषयमा सहमति भएको छ।

गाजामा बन्ध बनाएर राखिएका ५० जनालाई मुक्ता गराउन इजरायली मन्त्रिपरिषदले हमाससँग भएको एउटा सम्झौतालाई पारित गरेको छ।

इजरायली प्रधानमन्त्री कार्यालयले प्रकाशित गरेको विज्ञप्तिअनुसार चार दिनका लागि लडाइँ रोकिएको बेला बन्धकहरूलाई मुक्त गरिनेछ।

दुई पक्षबीच सहमति गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको कतारले चार दिनपछि संघर्षविराम लम्बिन सक्ने जनाएको छ।

यो सम्झौताअनुसार थप १० बन्धकलाई मुक्त गरिए त्यस्तो विराम थप एक दिन लम्बिने छ।

अमेरिका, कतार र इजिप्टको सहयोगमा दुई पक्षबीच सहमति भएको हो।

सहमतिबारे छलफल गर्न इजरायली मन्त्रिपरिषदको बैठक मंगलबार साँझ सुरू भएको थियो। त्यसलाई अनुमोदन गर्ने निर्णय गर्दा बुधबार बिहान भइसकेको थियो।

मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री बेन्जिमिन नेतन्याहुले बन्धकहरूको मुक्तिका लागि कुनै सहमति भयो भने पनि हमाससँग युद्ध जारी रहने टिप्पणी गरेका थिए।

कतारले लडाइँ कहिलेदेखि औपचारिक रूपमा रोकिन्छ भन्ने घोषणा २४ घण्टाभित्र गरिने जनाएको हो।

हमास लडाकु समूहले अक्टोबर ७ मा इजरायलमा अप्रत्याशित आक्रमण गरेको थियो।

आक्रमणमा परी इजरायलमा केही विदेशी नागरिकसहित १२ सयभन्दा बढीको मृत्यु भएको थियो। मारिनेहरूमा १० जनो नेपाली नागरिक पनि थिए।

लडाकुहरूले इजरायलबाट २ सयभन्दा बढीलाई बन्धक बनाएर गाजा स्ट्रिपतिर लगेका थिए।

त्यसरी बन्धक बनाइएकोमा नेपाली नागरिक विपिन जोशी पनि भएको अनुमान गरिएको छ।

केही दिनअघि इजरायली सेनाले अक्टोबर ७ मा खिचिएको एउटा भिडियो सार्वजनिक गर्दै त्यसमा नेपाली बन्धक देखिएको जनाएको थियो।

अक्टोबर ७ को घटनापछि इजरायलले गाजाबाट हमासलाई निमिट्यान्न पार्ने उद्घोष गर्दै आक्रमण गरेको थियो।

गाजामा विगत डेढ महिनादेखि इजरायलको सैन्य कारबाही जारी छ। इजरायलको आक्रमणमा परी हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन्।

हमासको नेतृत्वमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारबाहीमा १४ हजार जनाभन्दा बढी मानिसको ज्यान गएको छ। तीमध्ये ५ हजार बढी बालकालिका छन्।

यसैबीच हमासले इजरायली बन्दीहरूलाई मुक्त गर्दा १५० प्यालेस्टिनीहरू इजरायलको जेलबाट छुट्ने बताएको छ।

यो सम्झौताअनुसार राहत सामग्री र औषधि बोकेका सयौं ट्रकलाई गाजा प्रवेश गर्न दिइनेछ। हमासको अनुसार गाजामा अब इन्धन आपूर्ति पनि हुनेछ।

हमासले जारी गरेको विज्ञप्तिमा इजरायलले युद्धविरामको अवधिमा गाजामा कसैलाई पनि आक्रमण नगर्ने वा पक्राउ नगर्ने बताएको छ।

अब अझै धेरै बन्धकहरूको रिहाइका लागि वातावरण बनाउने गरी सम्झौता गरिएको छ।

सुरूमा हमासले ५० महिला तथा बालबालिकाहरूलाई छुट्टाछुट्टै रिहा गर्ने छ। त्यसमा पनि इजरायली नागरिक तथा दोहोरो नागरिकता भएका मानिसहरूले प्राथमिकता पाउने बताइएको छ।

यद्यपि अमेरिकाका केही अधिकारीहरूले भने ५० भन्दा बढी मानिस रिहा हुनसक्ने अपेक्षा गरेको बताएका छन्।

उनीहरूका अनुसार एक चारवर्षे अमेरिकी बालिकासहित कम्तीमा तीन अमेरिकी बन्धकलाई हमासले सुरूमै रिहा गर्ने अपेक्षा गरिएको छ।

शुक्रबार चार वर्ष पुग्ने ती बालिकाका आमबुबा दुवैको हमासको आक्रमणमा परी मृत्यु भएको बताइएको छ।

इजरायल सरकारका अनुसार प्रत्येकपटक १० जना बन्धकको रिहाइ हुँदा एक दिन लडाइँ रोकिने छ।

इजरायल र हमासबीच बन्धक मुक्तिका लागि सहमति भए पनि हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशी अहिलेको चरणमा मुक्त हुने सम्भावना न्यून रहेको बताइएको छ।

इजरायल तथा कतारस्थित नेपाली राजदूतहरूले जोशीलाई मुक्त गर्न पहल जारी रहेको र आफूहरू त्यहाँस्थित सरकारी तथा अरू सम्बन्धित सबै पक्षसँग त्यसबारे निरन्तर संवादमा रहेको बताएका छन्।

 

Tags: