post-slider post-slider

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

Image
A A

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खातामा एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा थियो। यस अवधिमा खुद पुँजीगत ‘ट्रान्सफर’ दुई अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह चार अर्ब ८१ करोड रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) तीन अर्ब ३८ करोड रहेको थियो।

पहिलो तीन महिनामा शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ।

त्यस्तै, गत असार मसान्तसम्ममा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन महिनामा ९.४ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकको सञ्चिति १९ खर्ब ८८ अर्ब पुगेको छ। बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ।

गत असोज मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ९ प्रतिशत रहेको छ।

विज्ञहरू विदेशी मुद्रा बढ्दाका फाइदा र घाटा दुवै रहेको बताउँछन्। सही ढङ्गले उपयोग गर्दा विदेशी मुद्रा बढ्नुका फाइदा धेरै रहेको उनीहरूको बुझाइ छ।

विदेशी मुद्राले अर्थतन्त्रमा दरिलो बनाउने नबनाउने राष्ट्र बैंकको नीतिमा भरपर्छ। 

नेपाल आत्मनिर्भर नभएको र आयातमुखी भएकाले पनि वैदेशिक मुद्रा धेरै हुँदा फाइदै पुग्ने र त्यसले शोधनान्तर स्थितिमा सुधार आउँछ। यसले देशको आर्थिक शक्ति र साख दुवै बढ्छ।

वैदेशिक व्यापार सन्तुलन र विदेशी लगानी भित्र्याउन पनि देशको यो अवस्थाले सकारात्मक भूमिका खेल्छ।

तीन महिनामा चार खर्ब, चार अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्ष २०८१/८२ पहिलो तीन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११.५ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो।  

अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको हो। गत असोज मसान्तसम्ममा खुद ‘ट्रान्सफर’ चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब चार अर्ब सात करोडमा सीमित थियो।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार ९३९ रहेको राष्ट्रबैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या एक लाख १३ हजार ३९७ थियो भने पुन: श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको थियो। 

Tags: