post-slider post-slider

लेबननमा गरिएको ड्रोन आक्रमणमा हमासका वरिष्ठ नेताको मृत्यु

Image
A A

काठमाडौं- हमासका वरिष्ठ नेता सालेह अल–अरूरी बेरूतमा मारिएपछि लेबनन सरकारले इजरायलमाथि मध्यपूर्वमा क्षेत्रीय युद्ध बल्झाउन खोजेको आरोप लगाएको छ।

इजरायलले भने यो घटना लेबननमाथिको आक्रमण नभएको तर्क गरेको छ।

इजरायल सरकारका प्रवक्ताले सालेह अल–अरूरी ‘हमासको नेतृत्वविरूद्ध गरिएको सर्जिकल स्ट्राइक’ मा मारिएको बताएका छन्।

तर, उनले त्यसमा इजरायलको भूमिकाबारे केही टिप्पणी गरेनन्।

इजरायलले हमास लडाकु समूहविरूद्ध सैन्य कारबाही थालेपछि ज्यान गुमाउने नेताहरूमध्ये अरूरी सबैभन्दा वरिष्ठ हुन्।

हमासले उक्त आक्रमणको निन्दा गरेको छ।

हमासको साझेदार हिज्बुल्लाहले उक्त घटनालाई ‘लेबननको सार्वभौमिकतामाथि भएको आक्रमण’ को संज्ञा दिएको छ।

लेबननका प्रधानमन्त्रीले इजरायलले ‘लेबननलाई मुठभेडमा तान्न’ खोजेको आरोप लगाएका छन्।

लेबननमा स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार हमासको राजनीतिक विभागका उपनेता अरूरी र अरू ६ जनाको दक्षिण बेरूतमा भएको ड्रोन आक्रमणमा मृत्यु भएको थियो।

मृत्यु हुनेमा हमासका दुई सैन्य कमान्डर र चार अन्य सदस्य पनि छन्।

लेननका विदेशमन्त्री अब्दुल्लाह बू हबिबले इजरायल गाजामा विफल भएकाले उसले त्यसको क्षतिपूर्ति गर्ने प्रयास गरिरहेको बताए।

समाचारसंस्था रोयटर्सका अनुसार एक प्रत्यक्षदर्शीले अग्निनियन्त्रक र स्वास्थ्यकर्मीहरू एउटा अग्लो भवनको छेउमा भेला भएको जनाएका छन्।

उक्त भवनको तेस्रो तलामा एउटा ठूलो भ्वाङ परेको जनाइएको छ।

हमासले इजरायलमा अप्रत्याशित आक्रमण गरेर ठूलो क्षति पु¥याइदिएपछि इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उक्त लडाकु विमानलाई निमिट्यान्न पार्ने उदघोष गरेका थिए।

तर, इजरायल सरकारका प्रवक्ता मार्क रेगेभले अरूरीको हत्या इजरायलले गराएको पुष्टि गरेका छैनन्।

 

Tags: