विश्वकप छनोटमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिए
काठमाडौं - ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनौटमा उरुग्वेसँग बराबरीमा रोकिएको छ।
बुधबार बिहान सम्पन्न खेलमा ब्राजिल र उरुग्वेले १-१ गोलको बराबरी खेलेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा फेडेरिको भलभेर्डेले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ब्राजिलका लागि खेलको ६२औं मिनेटमा गेर्सनले गोल गर्दै खेल बराबरी गरेका थिए।
यो बराबरीपछि ब्राजिलको १२ खेलमा १८ अंक भएको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै, उरुग्वेको १२ खेलमा २० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।
यता, अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा पेरुलाई पराजित गरेको छ। बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोल अन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले खेलको ५५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। मार्टिनेजले सो गोल लियोनेल मेसीको असिस्टमा गरेका थिए।
यो जितपछि विश्वकप छनौटमा अर्जेन्टिनाको १२ खेलमा २५ अंक भएको छ र शीर्ष स्थानमा कायम रहेको छ। पेरुको भने १२ खेलमा केवल ७ अंक रहेको छ र अंकतालिकामा पुछारमा रहेको छ।