प्रहरी समायोजनको प्रक्रिया टुंगोमा पुर्याउन सरकार दृढ छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार प्रहरी समायोजनको प्रक्रिया टुंगोमा पुगाउनका लागि दृढ रहेको बताएका छन्।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सरकार प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन र टुंगोमा पुगाउनका लागि दृढ रहेको बताएका हुन्।
‘सरकार प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन, टुंगोमा पुर्याउन दृढ छ। सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर हामी अगाडी बढाइराखेका छौं। र सुशासनको सन्दर्भमा सम्पूर्ण देशले र यो सदनका सम्पूर्ण माननीयज्यूहरूले पनि जुन प्रकारको समर्थन व्यक्त गर्नुभएको छ, त्यसको म उच्च मूल्यांकन गर्न चाहान्छु र हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसले विश्राम लिने छैन,’उनले भने।