post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : मधेसमा सकियो मतदान, स्थानीयतर्फ सतप्रतिशत मतदान

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको निर्वाचनअन्तर्गत मधेस प्रदेसमा मतदान सकिएको छ।

बिहान ९ बजेदेखि सुरू भएको मतदान निर्धारित समय दिउँसो ३ बजेभन्दा केहीबेर अघि सकिएको हो।

निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार प्रदेससभाका १०७ सदस्यमध्ये १०६ जनाले मतदान गरेका छन्।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यासम्बन्धी मुद्दामा दोषी ठहर भएका लोसपा संसदीय दलका नेतासमेत रहेका प्रदेससभा सदस्य अभिराम शर्माले मतदानमा भाग लिएनन्।

महोत्तरी जिल्ला अदालतले विक हत्यासम्बन्धी मुद्दामा शर्मालाई जन्मकैदको सजाय सुनाएको छ।

त्यस्तै १३६ स्थानीयतहका २७२ मतदाता रहेकोमा २६७ जनाले मतदान गरेका छन्। निल्मबनमा परेका पाँच जना मतदानमा भाग लिएका छैनन्

निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तहतर्फ सतप्रतिशत मतदान भएको जनाएको छ।

सप्तरीका चार र रौतहटका एक गरी पाँच जना स्थानीय प्रमुख भ्रष्टाचार मुद्दामा परेर निलम्बनमा परेकाले मत हाल्न पाएनन्।

सप्तरीको बोदेबरसाइन नगरपालिकाका मेयर आतेशकुमार सिंह, विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव, राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव, शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ता र रौतहटको फतवाविजयपुर नगरपालिकाका मेयर गोपालराय यादव निलम्बित छन्।

मधेस प्रदेसमा अन्य एक र महिला एक गरी दुई सिटका लागि मतदान भएको हो।

मधेस प्रदेसमा सत्ता गठबन्धनका तर्फबाट अन्य समूहमा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरी उम्मेदवार छन्।

त्यस्तै एमालेले अन्य समूहमा विजेता झा र महिलामा उषादेवी थरूनीलाई उम्मेदवार बनाएको छ।

जनमत पार्टीले अन्य समूहमा रमाशंकर महासेठलाई उम्मेदवार बनाएको छ। 

मधेस प्रदेसमा दुई सिटका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले छलफलबाट मतगणनासम्बन्धी निर्णय हुने र सम्भवतः आजै नतिजा आइसक्ने जनाएको छ।

 

 

Tags: