post-slider post-slider

भारतको अरूणाचल प्रदेसलाई समेटेर चीनले जारी गर्‍यो नयाँ नक्सा

Image
A A

काठमाडौं- चीनले भारतको अरूणाचल प्रदेसलाई समेटेर नयाँ नक्सा जारी गरेको छ।

सोमबार जारी गरेको नयाँ नक्सामा भारतको अरूणाचल प्रदेस र अक्साई चीनलाई उसले पुनः एकपटक चीनको हिस्साको रूपमा उल्लेख गरेको छ।

नयाँ नक्सालाई चीनले आफ्नो ‘प्रचलित नक्सा’ बताएको छ।

चीनको यो नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा प्रस्तुत गरिएको छ।

नक्सा सार्वजनिक गर्दै चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका मुखपत्र मानिने अंग्रेजी दैनिक ‘द ग्लोबल टाइम्स’ ले सामाजिक सञ्जालमा लेखेको छ,‘चीनको सन् २०२३ को प्रचलित नक्सा सोमबार सार्वजनिक गरिएको छ। यो नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको छ। यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ’ पद्धतिको आधारमा बनाइएको हो।’

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रण्यम स्वामीले चीनको नयाँ नक्सालाई लिएर व्यङ्यात्मक प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्,‘मोदीलाई भन्नुहोस् कि यदि उहाँले कुनै बाध्यताका कारण भारत माताको रक्ष ागर्न सक्नुहुन्न भने कम्तीमा पद छोडेर मार्गदर्शक मण्डलमा जानुहोस्। भारतलाई झुटले बचाउन सकिँदैन। भारतले अर्को नेहरु सहन सक्दैन।’

केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता भएको पृष्ठभूमिमा यो नक्सा  जारी गरिएको हो।

दुवै देशका नेताबीच सीमा विवादबारे समेत कुराकानी भएको थियो।

यसअघि सन् २०२३ को अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरूणाचल प्रदेसका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो।

चीनले अरूणाचल प्रदेसको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोटिमर भूभाग चीनले अवैधरूपमा कब्जा गरेको दाबी गरेको छ।

सीमानामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ।

 

Tags: