post-slider post-slider

कसले जोगाउँदैछ महरालाई?

Image
A A

काठमाडौं- सय किलो सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको अवरोधका कारण साउन १० यता संघीय संसद सञ्चालनमा आउन सकेको छैन।

एमालेले यो प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरिरहेको छ। सरकार भने एमालेको यो माग सुनुवाइका लागि टसमस भएको छैन।

सत्ता पक्ष र प्रतिपक्षको यो लडाइँकाबीच संघीय संसद बन्धक बनेको छ। हुँदाहुँदा पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षका सांसदहरू संसदमा उठेर एकअर्काको विरोधमा उत्रिन थालेका छन्।

संसद सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच रस्साकस्सी चलिरहेकै बेला आइतबार एमालेले ‘विशेष’ पत्रकार सम्मेलनको आयोजना गर्‍यो। च्यासलस्थित पार्टी मुख्यालयमा एमालेको यो पत्रकार सम्मेलन मुख्यतः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सय किलो सुन तस्करीमा केन्द्रित थियो।

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतलाई निशाना बनाए।

ओलीले प्रधानमन्त्री प्रचण्डलाई अयोग्य, नालायक, भ्रष्ट सबै भन्न भ्याए। उनले प्रचण्डको राजीनामासमेत माग गरे।

‘प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताका चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अप्ठ्यारो हुनुपर्ने हो। उहाँ आफैंले राजीनामा गर्नुपर्ने हो,’ ओलीले भने,‘गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नगरेर कसरी बस्न सकेको? आठौं कि नवौं आश्चर्य मान्नुपर्छ यसलाई। यो ठूलो आश्चर्य हो।’

सुन तस्करी प्रकरणमा भ्रमपूर्ण प्रचार गरेर सरकारले स्टन्टमात्रै गरिरहेको ओलीको आरोप छ।

सुन तस्करी प्रकरणमा निष्पक्ष ढंगले काम नगरेर सरकार जरासम्म पुग्नुको साटो टुप्पोटुप्पो मात्रै हेरेर बसिरहेको उनको भनाइ छ।

एमाले अध्यक्ष ओलीको इशारा यसअघि भएको ९ किलो सुन तस्करीतर्फ थियो।

इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम मुछिएको छ। तर, उनी दुवै जना हालसम्म अनुसन्धानको घेरामा परेका छैनन्।

महरा र उनका छोराको नाम नलिइ ओलीले भने, ‘कुनै गिरोहसँग लगातार २३४ पटकसम्म संवाद, एक दिन –दुई दिनका बीचमा कसरी हुन्छ मान्छेको? यो फेयर छ? तैपनि सोधपुछ पनि गर्नुपर्दैन, यो पनि फेयर छ? यसरी पनि चल्छ देश? यो पनि शासन–प्रशासन चलाउने तरिका हो । अनि बाहिर स्टन्ट दिएको छ, गफ दिएको छ। हाउभाउ गरेको छ। अनेक प्रकारका भ्रमपूर्ण प्रचार गरेको छ।’

सरकारको निष्पक्षतामाथि शंका

अघिल्लो वर्ष पुसको दोस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेपमा राखेर ९ किलो सुन अवैध तरिकाले भित्र्याइएको थियो।

सुन भित्र्याइएको सात महिनाभन्दा बढी भइसक्दा पनि यो प्रकरण अझै सेलाइसकेको छैन।

९ किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरा र उनका छोराको नाम मुछिए पनि हालसम्म उनीहरूसँग कुनै सोधपुछसमेत भएको छैन। 

र, यसका कारण प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठको भूमिकामाथि पनि प्रश्न उठेको छ।

भुटानी शरणार्थीदेखि ललिता निवासलगायतका काण्डहरूमा मुछिएका व्यक्तिलाई तत्काल पक्राउ गरेर अनुसन्धान गरिएको भए पनि ९ किलो सुन प्रकरणमा आफ्नै नेताको नाम जोडिँदा अनुसन्धानसम्म नगराएको भन्दै प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठको आलोचना भइरहेको छ।

९ किलो सुन भित्र्याउने तस्करसँग महरा र उनका छोराको सम्बन्ध पुष्टि भइसक्दासमेत अनुसन्धान नहुँदा पछिल्लो समय विभिन्न प्रकरणको अनुसन्धानलाई लिएर चर्चा कमाइरहेको सरकारको विश्वसनीयतामाथि प्रश्न उठिरहेको छ।

महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै देखिएको छ।
यो सञ्जालसँग पटक–पटक सम्पर्क भए पनि महरा बाबुछोरा अनुसन्धानको दायरमा अझै आएका छैनन्।

महराकै पार्टी माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री, अर्का उपाध्यक्ष श्रेष्ठ गृहमन्त्री छन्। तर, उनीहरू पार्टी र सरकारका अनुसन्धानकारी निकायबाट थप छानबिन गराउन हिच्किएका छन्।

८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर सिआइबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ।

महराका छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न भनिएका (हाल फरार) चिनियाँ नागरिक लुई हानसोङ, दाओजिन वाङ र असिमसँग पटक–पटक सम्पर्क भएको पाइएको छ।

त्यस्तै चिनियाँ नागरिक लुईका सहयोगीसँगसमेत राहुलले पटक–पटक सम्पर्क गरेको देखिएको छ। राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रैष्ठलाई समेत टेलिफोन गरेको पाइएको छ।

यो प्रकरणको अनुसन्धान प्रतिवेदन २९ असारमा सिआइबीले सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो। प्रतिवेदनका आधारमा पाँच जना पुर्पक्षका लागि थुनामा र तीन जना फरार छन्। एक जना धरौटीमा रिहा भएका छन्।

यसरी भित्र्याइएको थियो सुन

१० पुसमा चिनियाँ नागरिक ली हानसोङ फ्लाई दुबइको उडानबाट भेप ल्याएका थिए।

७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा ९ किलो सुन भित्र्याइएको थियो। ठूलो मात्रमा भेप देखिएपछि भन्सार कार्यालयले रोकेको थियो। यद्यपि भेपमा सुन रहेको विषयमा भन्सार कार्यालयलाई जानकारी थिएन।

भेप डेढ महिनासम्म भन्सारकै गोदाममा थन्कियो। सामान गोदाममा हुँदा राहुलले चासो राखेका थिए।

तर, उनको प्रयास सफल नभएपछि भन्सारकै कर्मचारीको ‘सेटिङ’ मा बजारबाट किनेर अर्को भेप भन्सारको गोदाममा राखियो। र, सुन भएको भेप बाहिर निकालियो।

पछि त्यो भेप बिक्री भएको खुलेको थियो।

भेपबारे गिरोहको गतिविधि शंकास्पद देखिएपछि भन्सार प्रमुख अरुण पोखरेलले थप सोधपुछ र अनुसन्धान गर्दा त्यसमा सुन लुकाएर ल्याइएको तथ्य बाहिरिएको थियो।

अनुसन्धानबाट कर्मचारीकै संलग्नतामा सुन भएको भेप चोरी गरेर गोदाममा अर्को भेप राखेको खुलेको थियो।

त्यसपछि पोखरेलले यसमा अनुसन्धान गर्न सिआइबीलाई पत्राचार गरेका थिए। सिआइबीको अनुसन्धानपछि यो प्रकरणमा चिनियाँ गिरोहले भेपभित्र सुन तस्करी गरेको खुल्यो। जसमा महरा बाबु–छोरासमेत मुछिएका छन्।

भेप भन्सारले नियन्त्रणमा लिएपछि भेपसँगै नेपाल आएका ली १३ पुसमा नेपाल छाडेका थिए।

सुन तस्करीभन्दा पनि भेप चोरी प्रकरणमा जोडिएका विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगले पुर्पक्षका लागि कारागारमा छन्।

अपुरो अनुसन्धान

भेपबाट भएको सुन तस्करी प्रकरणमा सिआइबीले अपुरो अनुसन्धान गरेको पाइएको छ। जसका कारण महरा बाबु–छोरा यो प्रकरणमा जोगिएका छन्।

सिआइबीले गरेको अनुसन्धानमा सुन तस्करी प्रकरणभन्दा पनि भेप चोरी प्रकरणमा मात्रै केन्द्रित रह्यो।

सिआइबीले तस्करी प्रकरणमा जोडिएका आरोपीमाथि अनुसन्धान नै नगरी चोरी प्रकरणमा मात्रै अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।

महरा बाबु–छोरालाई जोगाउनकै लागि अनुसन्धानलाई भेप चोरीतिर मोडिएको कतिपयको भनाइ छ।

भन्सारको भेप चोरीमा संलग्न आरोपीसँग भने महरा बाबु–छोराको सम्पर्क देखिँदैन। त्यस्तै चिनियाँ नागरिकहरूको पनि उनीहरूसँग सम्पर्क देखिएको छैन।

भेप चोरीबाहेक सुन तस्करीमा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैनन्। फोन सम्पर्क भएकै आधारमा कसैलाई पक्राउ गर्ने र मुद्दा चलाउन नसकिने सिआइबी स्रोतको भनाइ छ।

भेप ल्याउने चिनियाँ नागरिक पक्राउ परे महरा बाबु–छोरासमेत अनुसन्धानमा तानिनसक्ने सिआइबीका एक अधिकारीको भनाइ छ।

‘तस्करीमा संलग्न चिनियाँसँग उनीहरूको सम्बन्ध थियो भन्ने कुरामा शंका छैन। तर, सुन तस्करी प्रकरणमा भूमिका थियो कि थिएन भन्ने खुल्न सकेको छैन। तस्कर समूहका कोही पक्राउ परे अनुसन्धान हुन्छ। अनुसन्धान अझै जारी छ,’ सिआबी स्रोतले भन्यो।

माओवादी उपाध्यक्ष महरा चिनियाँ नागरिक दाओजिन वाङसँ आफ्नो पुरानो सम्पर्क रहेको आधरामा कुराकानी हुने गरेको बताउँदै आएका छन्।

सुन तस्करी प्रकरणमा आफूलाई नजोडिदिन उनले आग्रह गरेका छन्।

Tags: