post-slider post-slider

‘बुढीगण्डकीको काम तीव्र गतिले अगाडि बढाऔं’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनालाई छिटो अगाडि बढाउन आग्रह गरेका छन्।

बुढीगण्डकी जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयामिक आयोजना भएकाले प्रचण्डले तीव्रता दिन आग्रह गरेका हुन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने सम्बन्धी छलफलमा उनले आयोजना निर्माणको कामलाई तीव्रता दिएर जानुपर्ने बताए।

बैठकमा प्रचण्डले भने,‘बुढीगण्डकी जलाशयुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि हो। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौं। तसर्थ, यस्ता आयोजनाहरूलाई विलम्ब नगरी अगाडि बढाउनुपर्दछ।’

जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माण कार्यबारे कुनै प्रकारको अन्यौलता नरहन उनले मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र बुढीगण्डकी जलविद्युत लिमिटेडलाई निर्देशनसमेत दिए।

‘४३ अर्ब मुआब्जा वितरण भइसक्यो। थप अधिग्रहणका निम्ति जग्गा रोक्का गरिएको छ। फिल्ड अफिस स्थापना गरेर उदघाटनसमेत भइसक्यो। अब पनि आयोजना अगाडि बढ्छ कि बढ्दैन भनेर सोँच्नु हुँदैन। आयोजना अगाडि बढाउनुपर्छ। तपाईंहरू छिटो अगाडि बढ्नुस्,’ उनले भने।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, ऊर्जा सचिव, प्रधानमन्त्री कार्यालयका सचिवहरू, नेपाल विद्युत प्राधिकरणका अधिकारीहरू र बुढीगण्डकी जलविद्युत लिमिटेडका अधिकारीहरू उपस्थित थिए। 

 

Tags: