post-slider post-slider

भीड नियन्त्रणको नाममा प्राणघातक हतियारको प्रयोग रोक्न सर्वोच्चमा रिट

Image
A A

काठमाडौं- भीड नियन्त्रणको नाममा हतियार प्रयोगमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

भीड नियन्त्रणको नाममा हतियार प्रयोग गर्दा निर्दोष नागरिकले ज्यान गुमाउनुपरेको भन्दै यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार सार्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्।

त्रिपाठीले विभिन्न आन्दोलनमा भीड नियन्त्रण गर्नका लागि सरकारले प्रयोग गर्ने मेटल, बुलेट वा प्राणघातक हतियार प्रतिबन्ध गर्न रिटमा माग गरेका छन्।

रिटमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।

‘भीड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग एवं हिंसात्मक साधनको प्रयोगलाई वर्जित गरिपाऊँ,’ रिटमा भनिएको छ,‘अहिंसात्मक तरिकाले प्रदर्शन व्यवस्थापनमा खटिने प्रहरीलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने र अनिवार्य रुपमा प्रहरीको तालिमको विषयमा समावेश गर्नुपर्ने।’

भीड नियन्त्रणका लागि गैरघातक हतियारको प्रयोग गर्दा पनि मानवअधिकारका आधारभूत मापदण्डको प्रयोग सुनिश्चित हुनुपर्ने रिटमा उल्लेख छ।

निहत्था नागरिकमाथि घातक हतियारको प्रयोग गर्ने, जीवन अपहरणमा संलग्न भएर गैरकानुनी आदेश दिने र आदेश कार्यान्वयन गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याउन उनले माग गरेका छन्।

‘प्रहरीले आत्मसुरक्षाको साधानको अभावले पनि अत्यधिक बल प्रयोग गर्ने भएकाले पर्याप्त मात्रामा हेल्मेट, सुरक्षा ज्याकेट एवं बुलेटप्रुफको निरन्तर आपूर्तिको व्यवस्था मिलाइ पाऊँ,’ निवेदनमा भनिएको छ,‘यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निहत्था नागरिकमाथि प्राणघातक हतियारको प्रयोग नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरी पाऊँ।’

 

Tags: