post-slider post-slider

एउटै इनिङमा तीन ब्याटरको शतक, दक्षिण अफ्रिकाले श्रीलंकालाई दियो कीर्तिमानी लक्ष्य

Image
A A

काठमाडौं- एकदविसीय विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकासामु कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।

तीन ब्याटरको शतकीय इनिङको मदतले दक्षिण अफ्रिकाले श्रीलंकासामु कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको हो।

भारतको नयाँदिल्लीस्थित अरुण जेटली रंगशालामा शनिबार जारी खेलमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४२८ रन बनायो। 

एकदिवसीय विश्वकपको इतिहासमा कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो।

यसअघि दक्षिण अफ्रिकाले नै सन् २०१५ मा ४०८ रनको उच्च स्कोर बनाएको थियो।

श्रीलंकाविरूद्धको खेलमा दक्षिण अफ्रिकाका भान डेर डुसेनले १०८ रन बनाए। उनले ११० बलमा १३ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै आक्रामक शैलीमा प्रस्तुत भएका डेनम मार्करमले पनि शतकीय इनिङ खेले। उनले ४९ बलमा शतक पूरा गर्दै विश्वकपमा सबैभन्दा तीव्रगतिमा शतक बनाउने खेलाडीको कीर्तिमान बनाए।

मार्करमले ५४ बलमा १४ चौका र ३ छक्कासहित १०६ रन बनाए।

त्यस्तै ओपनर क्विन्टन डिकक ८४ बलमा आफ्नो शतक पूरा गरेर आउट भए। उनले १२ चौका र ३ छक्का प्रहार गरेका थिए।

कुनै पनि इनिङ्समा एकैपटक तीन खेलाडीले शतक बनाएको यो चौथोपटक हो।

यसअघि दक्षिण अफ्रिकाले नै दुई तथा इंग्ल्यान्डले एकपटक यो उपलब्धि हासिल गरेको छ। विश्वकपको इतिहासमा भने यो पहिलो अवसर हो।

 

 

Tags: