post-slider post-slider

नरसंहारको आरोपमा इजरायलविरुद्ध आइसिजेमा दायर मुद्दामाथि सुनुवाइ सुरु

Image
A A

काठमाडौं- इजरायलले हमासविरुद्ध जारी लडाइँमा नरसंहार गरेको भन्दै इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) मा दक्षिण अफ्रिकाले दायर गरेको एउटा मुद्दामा बिहीबारबाट सुनुवाइ सुरु भएको छ।

दक्षिण अफ्रिकी वकिलहरुले गाजालाई नष्ट गर्ने योजना इजरायली राज्यको उच्चस्तरबाट आएको दाबी गरेका छन्।

आफ्नो प्रतिरक्षा गर्ने इजरायलले भने ती आरोपहरुलाई निराधार भन्दै अस्वीकार गरेको छ।

दक्षिण अफ्रिकाले इजरायललाई गाजामा सैन्य कारबाही बन्द गर्न आदेश दिन पनि अदालतलाई आग्रह गरेको छ। 

उक्त अदालतले नरसंहारबारे एउटामात्र राय दिनेछ। यद्यपि यो बहसलाई धेरैले चासोपूर्वक हेरेका छन्।

दक्षिण अफ्रिकाको उच्च अदालतका एक वकिल तेम्बेका नयुबकाईतोबीले आइसिजेलाई इजरायली सैन्य आक्रमणको तरिकाबाट उसको नरसंहारको नियत स्पष्ट भएको बताए।

उनले अदालतमा भने, ‘गाजालाई ध्वस्त पार्ने उद्देश्य राज्यको उच्चस्तरबाटै राखिएको छ।’

दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्ने आदिला हामिसले हरेक दिन प्यालेस्टिनी जनताको जीवन, सम्पत्ति, मर्यादा र मानवताको अपूरणीय क्षति भइरहेको बताइन्।

सुनुवाइ हुनुपूर्व दक्षिण अफ्रिकाले प्यालेस्टिनी राष्ट्र र जातीय समूहलाई नष्ट गर्ने उद्देश्यसहित इजरायलले कदम चालेको दाबीसहित प्रमाणहरु पनि पेस गरेको छ।

इजरायलले शुक्रबार आफ्नो पक्ष अदालतसमक्ष राख्नेछ।

उसले यसअघि नै गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको हमला र क्षतिको प्रतिउत्तरमा गाजामा आफूले कारबाही गरेको बताएको छ।

यद्यपि दक्षिण अफ्रिकाका न्यायमन्त्रीले बिहीबार आइसिजेमा बोल्दै नरसंहारसम्बन्धी महासन्धीलाई उल्लंघनलाई कुनै पनि आक्रमणले पुष्टि गर्न नसक्ने बताए।

इजरायलले सन् १९४८ को उक्त महासन्धिमा हस्ताक्षर गरेको छ।

उक्त महासन्धिले नरसंहार भनेको के हो भनेर परिभाषित गरेको छ भने राष्ट्रहरुलाई नरसंहार रोक्न प्रतिबद्ध बनाउँछ।

आइसिजे संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च तहको अदालत हो र यसको मुख्यालय नेदरल्यान्ड्सको द हेगमा रहेको छ।

आइसिजेका सदस्य राष्ट्रहरुका लागि कानुनी रुपमा उसका आदेशहरु बाध्यकारी हुन्छन्।

दक्षिण अफ्रिका र इजरायल दुवै आइसिजेका सदस्य हुन्। तर, ती आदेशहरु कार्यान्वयन गर्न दुवै देशलाई बाध्य बनाउन भने सकिँदैन।

 

Tags: