post-slider post-slider

इन्धन आयातमा कमी

Image
A A

काठमाडौं- चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात ९ प्रतिशतले घटेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रूपैयाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, थ्यास र हवाइ इन्धन) आयात भएको हो।

गत वर्ष यो अवधिमा ९८ अर्ब २७ करोड ९९ लाख ६६ हजार रूपैयाँको इन्धन आयात भएको थियो।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रूपैयाँको इन्धन कम आएको छ।

बजारमा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको तथ्यांकले देखाएको छ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक संकटका कारण इन्धन आयातमा कमी आएको बताए।

आर्थिक संकटका कारण विकास निर्माणका काम कम हुँदा इन्धनको आयातमा कमी आएको उनको भनाइ छ।

आर्थिक संकटका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुनसकेको छैन।  यतिबेला ३० देखि ४० प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालनमा रहेका छन्।

खाना पकाउने एलपी ग्यासको समेत खपत घटेको छ। विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको निगमको भनाइ छ।

निगमका अनुसार चार महिनामा २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार रूपैयाँ बराबरको २ लाख २३ हजार ८१० किलोलिटर पेट्रोल आयात भएको छ।

 

 

Tags: