नवाज शरिफ पाकिस्तान फर्किए, सेनाले प्रधानमन्त्री बनाउन लागेको हो?
काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ आम निर्वाचन आउन लागेको बेला निर्वासनबाट स्वदेश फर्किएका छन्।
लामो राजनीतिक यात्रामा उनी पाकिस्तानको शक्तिशाली सेनाका लागि काँडा बनेका थिए।
अन्तिमपटक उनी पाकिस्तानमा हुँदा भ्रष्टाचारको मुद्दामा जेलमा थिए। तर, सन् २०१९ नोभेम्बरमा उनलाई अदालतले स्वास्थ्य उपचारका लागि जेल बाहिर र विदेश जान पनि अनुमति दियो।
अहिले के देखिन्छ भने अब सेना कुनै बेला आफैंले ‘कू’ गरेर हटाएका व्यक्तिलाई पुनः स्वागत गर्न तयार छ। र, उनी फेरि प्रधानमन्त्री बन्न पनि सक्छन्।
त्यतिमात्र होइन उनका प्रतिद्वन्द्वी र सन् २०१८ मा उनलाई प्रधानमन्त्रीबाट प्रतिस्थापित गर्ने इमरान खान आफैं अहिले सेनाले साथ नदिएपछि जेलमा पुगेका छन्।
यद्यपि अबका गतिविधि कसरी अगाडि बढ्ला भन्ने निश्चित छैन।
शरिफ फर्किएपछि अब के होला?
तीनपटक प्रधानमन्त्री भइसकेका शरिफले विगत चार वर्ष लन्डनमा बिताएका छन्।
उनलाई स्पष्ट रूपमा उपचारका लागि एयर एम्बुलेन्समा जेलबाटै लन्डन लगिएको थियो। तर, उपस्थित हुनुपर्ने समयमा उनी पाकिस्तान आएनन् र उतै बसे।
सन् २०२२ मा इमरान खान अविश्वासको मतमा प्रधानमन्त्रीबाट हटेपछि शरिफले आफ्नो राजनीतिक सक्रियता बढाइरहेका छन्।
इमरानलाई हटाइएपछि शरिफको पीएमएल–एन पार्टीले उनका कान्छा भाइ शाहबाजको नेतृत्वमा पाकिस्तानको सत्ता सम्हालेको थियो।
अब ठूल्दाइ घर फर्किएका छन्। शनिबार दुबईबाट इस्लामाबाद ओर्लिएका उनी गृहनगर लाहोर पुगेर एउटा सभालाई सम्बोधन गरे।
उनीमाथि लागेका मुद्दाहरू अदालतमा विचाराधीन अवस्थामा छन्। तर, अर्को साता सुनुवाइ नभएसम्मका लागि उनले जमानत पाएकोले तत्काल पक्राउ पर्ने सम्भावना छैन।
शरिफ निर्वासनबाट फर्केको यो पहिलोपटक भने होइन।
सन् २००७ मा उनी र विपक्षी नेता बेनजिर भुट्टोले सन् १९९९ को सैन्य ‘कू’ पछि पहिलोपटक चुनावमा भाग लिन सेनासँग ऐतिहासिक सम्झौता गरेका थिए।
सन् १९९९ मा उनलाई सेनाले ‘कू’ मार्फत हटाएको थियो।
त्यो बेला उनी स्वदेश फर्कँदा अहिलेकोभन्दा अवस्था भिन्न थियो र सबै प्रमुख दलहरू एकै ठाउँमा थिए।
त्यो बेला चुनावी ¥यालीमा भुट्टोको हत्या भएको एक सातापछिको चुनावमा उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) विजयी भएको थियो।
शरिफ फेरि प्रधानमन्त्री बन्लान्?
उनको पार्टीले आगामी चुनावमा उनी प्रधानमन्त्रीको उम्मेदवार बन्ने स्पष्ट पारेको छ। र, त्यहाँ सन् २०२४ मा चुनाव हुँदैछ।
तर, ७३ वर्षीय शरिफले धेरै खाले चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ।
देशको अर्थतन्त्र संकटमा रहेको त छ नै मुख्य प्रतिपक्षी नेता नै जेलमा रहेकाले निर्वाचन निष्पक्ष हुन्छ भन्नेमा पनि धेरैको विश्वास छैन।
आर्थिक संकटका लागि पनि उनको पार्टीलाई व्यापक रूपमा दोष दिइन्छ।
त्यसका साथै त्यहाँ शक्तिशाली सेना छ र त्यसले पाकिस्तानलाई कसरी चलाउने भन्नेमा प्रमुख भूमिका खेल्छ।
विदेशमा रहँदा पनि पूर्वप्रधानमन्त्री शरिफले बेलाबेलामा सेनाविरूद्ध निकै आवाज उठाएका छन्।
विशेषगरी उनले गुप्तचर निकाय आइएसआइका पूर्वप्रमुख र पूर्वसेना प्रमुखलाई राजनीतिक अस्थिरताका लागि दोषी बताएका थिए।
ती आरोपहरूलाई दुवैले अस्वीकार गरेका छन्।
शरिफले उनी ‘बनावटी मुद्दाहरू’ को सिकार भएको र देशका न्यायाधीशले पनि मिलेर आफूलाई पीडित बनाएको आरोप लगाएका छन्।
उनले त्यसले गर्दा कुनै पनि प्रधानमन्त्रीलाई आफ्नो संवैधानिक कार्यकाल पूरा गर्न नदिने खालको लोकतन्त्रमा पाकिस्तान परिणत भएको बताएका थिए।
उनका राजनीतिक प्रतिस्पर्धीहरूले उनलाई फर्कन अनुमति दिन सेनासँग सम्झौता भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। तर, उनीहरू शरिफले चुनाव जित्ने निश्चित नभएको बताउँछन्।
इमरानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआइ) का जुल्फी बुखारीले अदालतले उनलाई राजनीतिबाट आजीवन अयोग्य ठहराएकोले शरिफ प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउँछन्।
तर, धेरै विश्लेषकहरू शरिफको पक्षमा फरक तरिकाले घटनाहरू बाहिर आउनसक्ने ठान्छन्।
सेनाले शरिफलाई प्राथमिकता दिन्छ वा दिँदैन भन्नेबारे स्पष्ट छैन। इमरान पनि सत्ताबाट बाहिरिनुअघि सेनाको बलमा आफू प्रधानमन्त्री बनेको दाबीलाई अस्वीकार गर्दै आएका थिए।
निर्वाचन निष्पक्ष होला?
पूर्वप्रधानमन्त्री इमरान जेलमा छन्। गत मेमा उनको गिरफ्तारीविरूद्ध भएको हिंसात्मक प्रदर्शनपछि गरिएको दमनमा उनको पार्टी कमजोर भएका कारण आगामी चुनावमा मतदान निष्पक्ष नहुने कतिपयले ठानेका छन्।
पिटिआइका नेता गिरफ्तार हुनुअघि चुनावी सर्वेक्षणहरूमा यो दल अगाडि देखिएको थियो। तर, अब उसको मत खस्कने अन्य दलहरूको दाबी छ।
देशको सबैभन्दा लोकप्रिय नेतालाई चुनावअघि जेल हालेर स्वतन्त्र र निष्पक्ष चुनाव नहुने पिटिआइका नेताहरूको भनाइ छ।
शरिफको पार्टीले सन् २०१८ को मतदानअघि जेलमा रहेका बेला यस्तै कुरा हुने गरेको थियो।
त्यसैले राजनीतिक विश्लेषकहरू इतिहास दोहोरिएको ठान्छन् र यसपटक पिटिआइभन्दा पीएमएल–एनलाई फाइदा पुग्ने दाबी गर्छन्।
यसपटकको मुख्य चुनावी मुद्दा भनेको अर्थतन्त्र हो। दुवै पार्टीहरूले अहिलेको गडबडीका लागि एकअर्कालाई दोष लगाउँछन्।
सेनाले शरिफमाथि भरोसा गर्ला?
पाकिस्तानको राजनीतिमा प्रमुख भूमिका खेल्ने र कैयौं ‘कू’ मार्फत सत्ता कब्जा गर्ने सेनाको शरिफसँगको मतभेदको पनि लामो इतिहास छ।
तर, पनि अन्य स्पष्ट विकल्पको अभावमा सेना उनीसँग अर्को एउटा प्रयास गर्न इच्छुक देखिएको विश्लेषकहरू बताउँछन्।
शरिफ आफ्नो राजनीतिक यात्राको अधिकांश समय सेनासँग विवादमा रहँदै आएकाले अब उनले आफ्नो राजनीतिक गोटी कसरी चाल्छन् भन्ने कुरा चाखलाग्दो हुनसक्छ।