post-slider post-slider

सुन तस्करी प्रकरणबारे छानबिन गर्न समिति गठन

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार अवैध रूपमा भित्र्याइएको सुनका विषयमा छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ।

विभागको अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। 

राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो। विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा बुधबार सुन बरामद गरिएको हो। उक्त प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन्।

सुन ओसारपसारमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको भने नाम खुल्न सकेको छैन।

सुन भित्रँदा संलग्न भन्सारका कर्मचारीमाथि समितिले छानबिन गरिने विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा आयाततर्फ खटिएका कर्मचारीको संलग्नताका विषयमा समितिले छानबिन गर्नेछ। समितिले आज नै कार्गो भवन गई त्यहाँ रहेका सीसीटीभी फुटेज समेत हेर्ने जनाइएको छ।

छानबिनमा तानिने भन्सारका सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ। अनुमानित १०० किलो सुन बरामद गरिएको हो।

Tags: