post-slider post-slider

मंगोलियाविरुद्धको खेलमा यस्तो छ नेपालको ७ कीर्तिमान

Image
A A

काठमाडौं- १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले बुधबार मंगोलियाविरूद्ध कीर्तिमानी जित हासिल गरेको छ।

नेपालले आफ्नो पहिलो खेलमा मंगोलियालाई २७३ रनले पराजित गरेर कीर्तिमान कायम गरेको हो।

पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो।

फराकिलो अन्तरले जित हासिल गरेको नेपालले यो खेलमा अरू कीर्तिमानहरू बनाएको छ।

१. कीर्तिमानी स्कोर 

नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो। यो नै टी–२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो।

यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८/४ बनाएको थियो।

२. सर्वाधिक रन रेट

नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ। मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो। २३ फेब्रुअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ / ३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो।

३. सर्वाधिक छक्का

बुधबार नेपालको नाममा अर्को रेकर्ड रह्यो, सर्वाधिक छक्का। ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए। यो नयाँ कीर्तिमान हो।

यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो। ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेको थियो।

४. कुशल मल्लको कीर्तिमानी शतक

मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुशल मल्लले पनि विश्व कीर्तिमान बनाएका छन्।

उनले मात्र ३४ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाएका हुन्। उनले दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरको रेकर्ड तोडेका हुन्। उनीहरूले ३५ बलमा १०० रन बनाएका थिए।

१३७ रनमा अविजित रहेका उनी टी–२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने क्रिकटरको सूचीमा पाँचौं नम्बरमा परे। पहिलो नम्बरमा एरोन फिन्च छन्। उनले १७२ रन बनाएका छन्।

५. ऐरीको नाममा नयाँ रेकर्ड

मंगोलियाविरुद्ध भएको खेलका क्रममा दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाएका छन्।

मात्र ९ बलमा अर्धशतक बनाएका उनी टी–२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन्।

यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो। उनले १९ सेप्टेम्बर २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए।

६. स्ट्राइक रेटमा पनि ऐरीको कीर्तिमान

बुधबार ऐरीको नाममा अर्को पनि रेकर्ड दर्ज भयो। त्यो हो हाइएस्ट स्ट्राइक रेट। मात्र १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२० रहृयो।

यसअघि यो रेकर्ड वेष्टइण्डिजका डवेन स्मिथको नाममा थियो। १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेटमा ४१४.२८ थियो।

७. ठूलो अन्तरको जित

नेपालले मंगोलियालाई २७३ रनले हरायो। टी–२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो। यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो।

 

Tags: