post-slider post-slider

२० करोड रूपैयाँ भारतले मनमौजी ढंगबाट प्रयोग गर्ने कुरा झुटो र आधारहीन : निधि

Image
A A

काठमाडौं - नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले भारतको तर्फबाट प्राप्त हुने २० करोड अनुदानमा भारत सरकारले मनमौजी ढंगबाट प्रयोग गर्ने गरी सम्झौता भएको भन्नु आधारहीन र झुटो कुरा भएको बताएका छन्।

भारतीय विदेशमन्त्री एस.जयशंकरको पछिल्लो भ्रमणका क्रममा नेपाललाई प्राप्त हुने २० करोड रूपैयाँ अनुदान रकम भारत सरकारले एकल ढंगबाट प्रयोग गर्ने हल्ला चलेका बेला निधिले यस्तो बताएका हुन्।

नेता निधिले सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धीअनुसार अब भारतले २० करोड रूपैयाँसम्म दिनसक्ने उल्लेख गरेका छन्।

उनले भारततर्फबाट प्राप्त हुने यो अनुदानलाई सकारात्मक रूपमा लिनुपर्ने प्रष्ट पारेका छन्।

अनुदानमा आधारित यस्ता परियोजनाहरू धेरै पहिलेदेखि नै सञ्चालित रहेको छ। दुई करोड अनुदानबाट प्रारम्भ हुँदै पाँच करोडसम्मको रकम भारतले दिँदै आइरहेको थियो। यस्तो परियोजना छनोट र स्वीकृतिका लागि सुरूदेखि नै नेपाल सरकारको सम्बन्धित निकाय, सरोकारवाला, मन्त्रालय र अर्थमन्त्रालयको संलग्नता र सहमति अनिवार्य रहँदै आएको छ। यसपटकको सम्झौतमा पाँच करोडबाट बढाएर २० करोड पु¥याएको मात्र हो। त्यसकारण भारत सरकारले मनमौजी ढंगबाट गर्ने सम्झौता भएको भन्नु आधारीहन र झुटो कुरा हो,’ शनिबार साँझ निधिले विज्ञप्ति निकालेर भनेका छन्।

उनले भारत सरकारबाट प्राप्त हुने त्यस्तो अनुदानबाट नेपालका कम्युनिस्ट पार्टीका साथै अन्य पार्टीका नेता र समाजका विभिन्न क्षेत्रका अगुवाहरूले पनि आ–आफ्नो प्रभाव क्षेत्रमा विकास निर्माणका कार्य गरेको जिकिर गरेका छन्।

उनले भनेका छन्,‘...कम्युनिस्ट पार्टीका अन्य दलका नेताहरू र समाजका अगुवाहरूले पनि आ–आफ्नो प्रभाव क्षेत्रमा खासगरी स्कुल, क्याम्पस भवन र पुल निर्माण गर्ने गरेका छन्। र, भवन शिलान्यास तथा उदघाटन भारतीय राजदूत वा अधिकारीबाट गराउँदै आएका र आफू पनि सहभागी हुँदै आएका छन्। अहिले आएर त्यसको विरोध गर्नु द्वेध चरित्र प्रदर्शन गर्नुमात्र हो। नेपालको विकासमा भारत सरकारको यस किसिमको सदासयताको म समर्थन गर्दछु।’

निधिले नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी भएको सम्झौताले नेपाललाई वार्षिक १० खर्ब हाराहारी आम्दानी हुने बताउँदै यसले भारतसँगको बढ्दो व्यापार घाटा कम गर्न उल्लेखनीय भूमिका खेल्ने उल्लेख गरेका छन्।

त्यस्तै उनले नेपाल विद्युत प्राधिकरण र भारत सरकारको नेसनल थर्मल पावर कर्पोरेसनबीच नवीकरणीय ऊर्जा विकासका लागि भएको सहमतिले जलवायु परिवर्तनको क्षेत्रमा दुवैबीच सहयोग अभिवृद्धिमा मद्त पुग्ने बताएका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इन्डियाबीच ध्रवीय उपग्रह प्रक्षेपण बाहनमा मुनाल उपग्रह प्रक्षेपणसम्बन्धी सम्झौताले स्याटेलाइटमा अरूको भर पर्ने नेपालको अवस्था अन्त्य हुने निधिले विश्वास लिएका छन्।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) सँगको बैठकमा भारत सरकार र भारतीय क्रिकेट बोर्डका तर्फबाट विदेशमन्त्री जयशंकरद्वारा नेपालमा क्रिकेटको विकासका लागि भारतको तर्फबाट सहयोग गर्ने प्रतिबद्धताले नेपाली क्रिकेटको क्षेत्रमा कोसेढुंगा सावित हुने निधिले बताएका छन्।

उनले धार्मिक, सांस्कृति पर्यटनको विकासका लागि जनकपुरधाम र भारतको अयोध्याबीच हवाइसेवा तत्काल सञ्चालन गर्न दुई देशबीच आवश्यक सम्झौता र समझदारीका लागि पहल हुने विश्वास व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा सय करोड रूपैयाँ अनुदान दिने घोषणा भएको रकमका लागि हालसम्म परियोजना नबनेको भन्दै उनले जनकपुरमा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका लागि प्राप्त भइसकेको जग्गामा यो रकम लगानी गरी निर्माण कार्यका लागि तत्कालै दुई देबीच सझदारी कायम गर्न नेपाल सरकारसँग अनुरोध गरेका छन्।

निधिले धनुषाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा जमुनी नदीको जटहीमा, जमुनी नदीको थली घाटमा र जमुनी नदीको अक्रहरघाटमा नेपाल सरकारबाट शिलान्यास भएर पनि वर्षौंदेखि निर्माण कार्य रोकिएकाले दुवै देशबीच आवश्यक सहमति र समझदारी गरी तत्कालै निर्माण कार्यको अग्रसरता लिन सरकारलाई ध्यानाकर्षण गराएका छन्।

 

Tags: