सप्तकोशी नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत भ्रष्टाचारी ठहर
काठमाडौं- सप्तरीको सप्तकोशी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना भ्रष्टाचारी ठहर भएका छन्।
विशेष अदालत काठमाडौंले तत्कालीन प्रशासकीय अधिकृतसहित ६ जनालाई भ्रष्टाचारी ठहर गर्दै सजाय तोकेको हो।
सोमबार विशेष अदालतले सप्तकोशी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहाल र दुई प्राविधिकलाई कैद सजाय सुनाएको हो।
दाहालले नगरपालिकामा भएको निर्माण कार्यमा भ्रष्टाचार गरेको र त्यसबाट सरकारलाई झन्डै १५ लाख रूपैयाँ नोक्सानी भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन वर्षअघि मुद्दा दायर गरेको थियो।
नगरपालिकामा कार्यरत इन्जिनियर सुदीप चौधरी र सबइन्जिनियर रामकान्त चौधरी पनि यसमा संलग्न रहेको अख्तियारको दाबी थियो।
विशेषले दाहालका साथै सुदीप र रामकान्तलाई पनि दोषी ठहर गरेको छ।
विशेषका उपरजिष्ट्रार धनबहादुर कार्कीका अनुसार दाहाल, सुदीप र रमाकान्त तीनै जनालाई तीन–तीन महिनाको कैद सजाय सुनाइएको छ।
विशेषले १४ लाख ९७ हजार रूपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्दै तीनै जनाबाट दामासाहीले पर्न आउने रकम भराउने फैसला गरेको छ।
उनीहरू तीनै जना मिलि सार्वजनिक खरिद ऐन छलेको, सार्वजनिक खरिद नियमावलीका प्रावधानको गलत व्याख्या गरेको अभियोग अख्तियारले लगाएको थियो।
अधिकृत दाहालले १५ लाखको निर्माण कार्यमा आफ्नो एकल निर्णय गरी तीन भाग लगाइ कोटेसनमार्फत तीन निर्माण व्यवसायीलाई निर्माण कार्यको जिम्मा दिएको अख्तियारले अभियोग लगाएको थियो।
तीनवटै निर्माण व्यवसायीहरूले नगरपालिकासँग गरेको सम्झौताविपरित लागत इस्टिमेटबमोजिम कार्यसम्पन्न नगरेको भेटिएको थियो।
ठेकेदारले गुणस्तरहीन काम गरेको अवस्थामा पनि इन्जिनियरहरू सुदीप र रमाकान्तले काम सम्पन्न भएको गलत प्रतिवेदन तयार पारेको आधारमा १४ लाख ९७ हजार रूपैयाँ भुक्तानी भएको भेटिएको थियो।
ठेक्का पाउने तीन कम्पनीका सञ्चालक पनि भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन्। उनीहरूलाई कैद नभइ जरिवाना हुने भएको छ।
निर्माण व्यवसायीहरू राजकुमार यादव, नारायणप्रसाद यादव र श्यामकान्त चौधरीले नगरपालिकासँग सम्झौताविपरित काम गरेको भन्दै अख्तियारकै मागदाबीबमोजिमको बिगो कायम गर्ने फैसला विशेषले गरेको छ।