post-slider post-slider

चार किलो सुनसहित दोलखाबाट तीन जना पक्राउ

Image
A A

दोलखा- दोलखामा चार किलो सुनसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति सुनसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

जिल्लाको विगु गाउँपालिका जामुनेबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए।

उक्त सुन लप्ची नाकाबाट भित्रिएको हुनसक्ने खड्काले आशंका गरेका छन्। पक्राउ परेका तीन जनामध्ये दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेका तीनै जना विगु गाउँपालिका–१ लामाबगरबासी भएको प्रहरीले जनाएको छ।

चीन सरकारले आइतबारदेखि तिब्बतसँग जोडिएको दोलखाकाका दुईवटा नाका खुला गरेको थियो । सुन भित्रिँदै गरेको गोप्य सूचना पाएपछि खड्कासहितको प्रहरी टोली हिजो राति सिंगटी पुगेको थियो।

एक/एक केजीको चार पिस सुनसहित तीन जनालाई हिजो राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाले बताए।

सुन सिंगटीका स्थानीय व्यवसायीलाई परीक्षण गराइएको छ भने थप परीक्षण सदरमुकाम चरिकोटमा गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताए। उक्त तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Tags: