post-slider post-slider

प्रधानमन्त्री निवास निल्न खोज्नेहरू पक्राउ पर्न थालेका छन् : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकृतिविरूद्धको लडाइँमा आफू कुनै पनि मूल्य चुकाउन तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको लागि विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

ललिता निवास जग्गा हिनामिना सम्बन्धमा प्रचण्डले प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ पर्न थालेको बताए।

लोकतन्त्रलाई छायामा पार्ने गरी देखिएका विकृतिविरूद्ध सुशासनको पक्षमा आफू लड्ने उनले बताए।

सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

उनले सुशासनको पक्षमा लड्दा संसद र जनताको साथ रहने विश्वास व्यक्त गरे।

‘लोकतन्त्रसँग विकृति सच्याउने सामथ्र्य रहन्छ भन्ने कुराको विश्वास जनतालाई दिनुपर्नेछ यसमा सरकार दृढ भएर अगाडि बढ्छ,’ प्रचण्डले भने,‘मलाई सदनको पनि र आम जनताको पनि अझ ठूलो हौसला र समर्थन प्राप्त हुने विश्वास गरेको छ। कुनै पनि मूल्यमा विकृतिका विरूद्धको यो लडाइँ अघि बढइनेछ।’

प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले सफल अनुसन्धान गरिेको दाबी गरे।

उच्चपदस्थहरू कानुनभन्दा माथि हुन्छन् भन्ने कुराको अन्त्य गर्न लागिरहेको उनको भनाइ छ।

प्रचण्डले सुशासनको अभियान यत्तिमै नरोकिने बताए।

‘संसद र आम जनसमुदायलाई यहि रोस्ट्रमबाट विश्वास दिलाउन चाहन्छु यो शुद्धीकरण यत्तिमै रोकिनेछैन। निरन्तर अगाडि बढ्नेछ। हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्त पक्राउ पर्न थालेका छन्। मिटरब्याजी र सहकारीका ठगहरूमाथि पनि कारबाही सुरू भइसकेको छ,’ उनले भने।

 

Tags: