post-slider post-slider

फेरि नेकपातिरै फर्कनुको विकल्प छैन : प्रचण्ड

Image
A A

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः नेकपातिरै फर्किनुपर्ने बताएका छन्।

कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायण विलास जोशीको स्मृति दिवसमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालीन नेकपा एकता नटिके पनि फेरि नेकपातिरै फर्किनुपर्ने बताए।

उनले एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने उल्लेख गरे।

नेकपा बन्दा जनतामा ठूलो उभार देखा परेको र प्रतिगामीहरू डराएको भए पनि आफ्नै कारणले एकता टिक्न नसकेको उनको भनाइ छ।

प्रचण्डले एकपटक असफल भए पनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने जिकिर गरे।

विचार र राजनीतिमा कहाँ त्रुटि थियो भनेर सबैले सोच्नुपर्ने उनले उल्लेख गरे।

‘अहिले हामी माधव नेपाल र विप्लवसहित मोर्चा बनाएर अघि बढ्ने जमर्को गरेका छौं। माधवजी र मैले फेरि नेकपातिरै फर्कनुपर्छ, फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ,’ प्रचण्डले भने।

उनले एकपटक असफल भए पनि फेरि एकता गर्ने उद्देश्यले अघि बढ्नुको विकल्प नभएको बताए।

कार्यक्रममा नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवन सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिस्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताए।

यसका लागि प्रधानमन्त्री प्रचण्डले गम्भीर रूपमा चिन्तन मनन गर्नुपर्ने उनको भनाइ छ।

‘जनताको जीवनमा आमूल परिवर्तन गर्ने, जनताको जीवनलाई सुखी बनाउने, यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिस्ट पार्टीले नै गर्नुपर्ने छ,’ नेपालले भने।

 

Tags: