सहसचिव चुडामणि शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं- सहसचिव चुडामणि शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतले सहसचिव शर्मासहितलाई बिहीबार दोषी ठहर गरेको हो।
कर फर्छ्यौट आयोगमा रहँदा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरूद्ध १ अर्ब ३३ लाख रूपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवाना मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले यो मुद्दामा आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरेको छ।
चुडामणिसहित तीनै जनालाई गैरकानुनी सम्पत्तिमा सफाइ मिले पनि राजस्व चुहावट मुद्दा दोषी ठहर गरिएको हो।
उनीहरूको सजाय तोक्नका लागि २५ जेठमा पेसी तोकिएको छ।
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा आयोगमा सदस्य सचिवको हैसियतमा कार्यरत थिए।
२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले गठन गरेको कर फर्छ्यौट आयोगले नउठेको करका रूपमा रहेको ३० अर्ब ५२ करोड रूपैयाँ फर्छ्यौट गरी ९ अर्ब ५४ करोड रूपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो।
२०७१ भन्दा अघिको आयकर बक्यौता र २०५८ अघिका विभिन्न कर बाँकी रहे आपसी सहमतिमा फर्छ्यौट गर्नुपर्नेमा आयोगका पदाधिकारीले भ्याटसमेत छुट दिएका थिए।
कार्यदेशमा नक्कली भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरूलाई कर छुट नदिने भनिए पनि उनीहरूले छुट पाएका थिए।
क्षेत्राधिकार बाहिर गइ बदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्यौट गरी सम्झौता गर्दा राज्यकोषमा नोक्सानी भएको अख्तियारको दाबी थियो।