.png)

जारी कांग्रेस केन्द्रीय समिति बैठकमा आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने
.jpg)
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ। मंगलबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।
बैठकको पहिलो दिन मंगलबार विभिन्न प्रतिवेदन पेस भएकोमा आज केन्द्रीय सदस्यहरूले धारणा राख्दै बैठक अघि बढ्ने छ। मंगलबार बसेको केन्द्रीय समिति बैठक लाइभ गरिएको थियो।
मंगलबारको बैठकमा महामन्त्री गगन थापाले संगठनसम्बन्धी प्रस्ताव र वार्षिक कार्यक्रमको क्यालेन्डर प्रस्तुत गरेका छन्। थापाले २०८० को साउनदेखि ०८१ को असार मसान्तसम्म गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डर प्रस्तावको रुपमा पेस गरेका हुन्।
थापाले प्रस्तुत गरेको क्यालेन्डरअनुसार हरेक महिना एक विशेष उद्देश्यसहितका कार्यक्रम तोकिएका छन्। क्यालेन्डरअनुसार केन्द्रीय सदस्यहरूले वर्षको एक महिना पार्टीको कामबाट बिदा पाउने छन्। त्यसबाहेक ११ महिना कुनै न कुनै कार्यक्रम र अभियानमा निरन्तर संलग्न हुनुपर्नेछ।
बैठकमा महामन्त्री थापाले आउँदो १५ भदौभित्र कार्यकाल सकिएका भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।
नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको कार्यकाल सकिएको छ। उक्त संस्थाको १५ भदौभित्र समिति बनाउने प्रस्ताव महामन्त्री थापाले गरेकाक हुन्।
यसैगरी उननले नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी १५ भदौभित्र पूर्णता दिने पनि प्रस्ताव गरेका छन्। बैठकमा अनुशासन समिति, निर्वाचन समिति लगायतको प्रतिवेदन प्रस्तुत भएको छ।