post-slider post-slider

प्रधानमन्त्री स्वदेश फर्किँदै

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किँदैछन्।

उनी चीनको छेन्दुबाट स्वदेश फर्किन लागेका हुन्।

उनलाई सिचुवान प्रान्तका उपगर्भनर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीहरूले छेन्दु विमानस्थलबाट बिदाइ गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्कन लागेका हुन्।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ३० भदौमा अमेरिका प्रस्थान गरेका थिए।

संयुक्त राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आमबहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए।

न्यूयोर्कमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गरेका थिए। साथै अन्य मुलुकका समकक्षीसँग पनि उनले द्विपक्षीय भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सोझै चीनको औपचारिक भ्रमणका लागि ५ असोजमा त्यसतर्फ प्रस्थान गरेका थिए।

चीनमा उनले राष्ट्रपति सि जिनपिङसँग उच्चस्तरीय द्विपक्षीय भेटावार्त गरेका थिए।

उनले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाएका थिए।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरेका थिए।

भेटवार्ताका क्रममा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणपछि शनिबार स्वदेश फर्कन लागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

 

Tags: