मानसिक समस्याको डर लाग्दो रूप, सात वर्षमा ३ हजार २७० जनाले गरे आत्महत्या
काठमाडौं- महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार एक फार्मेसी अधिकृत मृत भेटिएका छन्।
उनी अस्पतालकै फार्मेसीमा काम गर्ने फार्मेसी अधिकृत हुन्। बिहान करिब पौन ८ बजे दुई तलामाथि स्टोर रुम नजिकको भर्याङ नजिक उनी मृत भेटिएकी हुन्।
त्यस्तै असार २१ गते आत्महत्याको दुईवटा घटना सार्वजनिक भए।
घटना–१
नेपाली फिल्म क्षेत्रका उदीयमान नायक सारुक ताम्राकारले आत्महत्या गरेका छन्। उनले ३१ वर्षको उमेरमा आफ्नै निवास रातो पुलमा आत्महत्या गरेको अवस्थामा शव फेला परेको थियो।
उनी दिनभर फिल्म ‘ह्यासट्याग माया’को सुटिङमा थिए। बेलुकी उक्त घटना घटेको हो।
घटना–२
इलाममा एक जनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका थिए।
उनकी श्रीमती कोठामा लडिरहेको अवस्थामा फेला परेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको थियो।
ती पुरुष घरदेखि एक सय मिटर टाढाको निबारोको रूखमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या गर्नेको सङ्ख्या पनि बढिरहेको छ।
पछिल्लो सात वर्षमा आत्महत्या गर्नेको सङ्ख्या
२०७३/७४ मा ५ हजार १२४,
२०७४/७५ मा ५ हजार ३१७,
२०७५/७६ मा ५ हजार ७८५,
२०७६/७७ मा ६ हजार २२५,
२०७७/७८ मा ७ हजार १४१,
२०७८/७९ मा ६ हजार ८३०
२०७९/८० मा ४ हजार ८४८
यो घटनाले समाजमा बढिरहेका निराशापनलाई दर्साउँछ।
नेपालमा मानसिक स्वास्थ्यको अवस्था
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजा अनुसार नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोर किशोरीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। जसमा २.८ प्रतिशतमा चिन्ता जन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसनको समस्या पाइएको छ र ३.९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच पाइएको छ।
१८ वर्षमाथिका व्यक्तिहरूमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। जसमा ३ प्रतिशतमा चिन्ता जन्य समस्या, २ दशमलव ९ प्रतिशतमा डिप्रेसन, ० दशमलव २ प्रतिशतमा साइकोसिस र ७.२ प्रतिशतमा आत्महत्यासम्बन्धी सोचको अवस्था देखिएको छ।
राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्यनीतिका अनुसार नेपालमा कूल नसर्ने रोगहरूको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ। अपाङ्गता गराउने प्रमुख १० कारकहरू मध्ये ४ वटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन्।
नेपालमा १० नसर्ने रोगका १८ प्रतिशत मानसिक स्वास्थ्यले ओगटेको छ।
नेपालको जनसंख्याको ४० प्रतिशत बालबालिका तथा किशोर-किशोरी (१८ वर्ष भन्दा कम) छन्। ५० प्रतिशत मानसिक स्वास्थ्य समस्या १५ वर्षदेखि सुरु हुने कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोर किशोरी मनोरोग विशेषज्ञ डा. अमित झाले बताए।
उनका अनुसार २० वर्षमा कसैलाई डिप्रेसन सुरु भएको छ भने धेरैलाई त्यो पनि किशोर किशोरी अवस्थामा नै सुरु भएको होला भन्ने गरिन्छ।
५ जना बालबालिकामध्ये एक जनालाई कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या भएको हुन सक्छ।
कुनै पनि डिसअर्डर ‘डिसअविलिटि’ (अपाङ्गता) निम्त्याउँछ। नसर्ने रोगले निम्त्याउने जति अपाङ्गता बनाउँछ त्यसको ४ प्रतिशत मानसिक स्वास्थ्य समस्याका कारणले हुने डाक्टर झाको भनाइ छ।
उनका अनुसार मानसिक स्वास्थ्यका कारणले हुने समस्याहरू डिप्रेसन, एन्जाइटी हाइपर एक्टिभिटि यो जति पनि समस्या यी सबै पनि नसर्ने रोग हुन्। यो अन्य नसर्ने रोग क्यान्सर, थाइराइड, मधुमेह, हाइपर टेन्सन जस्ता समस्याको कारण ८० प्रतिशत मानसिक स्वास्थ्य सम्बन्धी समस्याले ओगट्छ।
मानसिक स्वास्थ्य नीति
राष्ट्रिय स्वास्थ्य नीति २०७७ मा मानसिक स्वास्थ्य सेवा सबैले पाउनुपर्छ भनिएको छ।
राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ अनुसार मानसिक स्वास्थ्यमा काम भइरहेको छ।
त्यसमा मानसिक स्वास्थ्यको प्राथमिक सेवा स्थानीय तहले समुदाय स्तरमा दिने, विशेषज्ञ सेवा प्रदेश र विशिष्टीकृत सेवा केन्द्र सरकारले दिने उल्लेख छ।
सरकारले मानसिक स्वास्थ्यमा कार्यक्रमहरू ल्याएको छ। तर केही नीति लागु भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको मनोचिकित्सक ऋषभ कोइराला बताउँछन्।
लाइसेन्स दिने प्रावधान नहुँदा ‘माल प्राक्टिस’
मानसिक स्वास्थ्यमा लाइसेन्स बिना नै मानसिक स्वास्थ्य परामर्श केन्द्र खोलेर बस्नेको जगजगी रहेको मनोविद् विजया बताउँछिन्।
‘मनसँग खेल्नुपर्ने मान्छे। एउटा शब्दले एउटा मान्छे बाच्छ। एउटा शब्दले एउटा मान्छे आत्महत्या गर्छ। प्राण त्याग्छ भने त्यस्तो गम्भीर क्षेत्रमा काम गर्नुपर्ने मान्छे लाइसेन्स बिना काम गरिरहेका छन्', उनले भनिन्,‘हामीलाई परीक्षा लिइँदैन। सुपर भिजन गरिँदैन। हाम्रो माथि को बस्छ?’ राज्यले यसको व्यवस्था गर्नुपर्ने उनको माग छ।
उनका अनुसार यस विषयमा लबिङ गरेको पनि लगभग १० वर्ष भइसक्यो। तर, गैर सरकारी संस्थाले राजनीतिक पहुँच र आर्थिक पहुँचका आधारमा सरकारको नीतिलाई चलाएर आफ्नो अनुसार बनाइरहेको छन्।
‘गैर सरकारी संस्थाले सरकारी नीति बनाउन मुख्य भूमिका खेल्नु भनेको जोखिम हो,’ उनले भनिन्, ‘निजी स्वार्थ र सरकारसँगको पहुँचको कारणले ‘माल प्राक्टिस’ गरिरहेका छन्।’
‘लाइसेन्स नभए पनि हामी ‘लिगल’(कानुन सम्मत) छैनौं। यो हाम्रो लागी ठूलो समस्या हो,’ उनले भनिन्। लाइसेन्स नभएका कारण अन्तर्राष्ट्रिय फोरमा पुगेर अभ्यास गर्न नपाएकोमा उनले दुखेसो पोखिन्।
मनोविद् विजयासँग सहमति जनाउँदै मनोचिकित्सक ऋषभ पनि १६ घण्टाको तालिममा गफ गर्ने कुरा सिकेर मनोरोग विश्लेषक भएको दाबी गर्ने अभ्यास भइरहेको बताउँछन्।
बिरामी गलत ठाउँमा पुगेर हतोत्साहित नहुन र सही,सहज सेवा दिन लाइसेन्स आवश्यक रहेको उनको मत छ।
‘मनोचिकित्सक ले अनिवार्य लाइसेन्स लिनै पर्छ। तर तालिम प्राप्त जनशक्ति अहिले ८०० जना मनोविद् भनेकाहरूसँग लाइसेन्स छैन। यती धेरै मान्छेले लाइसेन्स बिना अभ्यास गर्नु कति गम्भीर छ,’ उनले दुखेसो पोखे।
उनले थपे, ‘मानसिक स्वास्थ्यमा जटिल समस्या भएर गलत ठाउँमा पुगेर समस्या बिग्रेका कारण ज्यानकै क्षति हुन पुगेको उदाहरणहरू छन्। लाइसेन्स त्यसैले अपरिहार्य छ।’
‘सामाजिक लाञ्छनाका रूपमा रहेको मानसिक स्वास्थ्य उपचारमा पहिलो कदम लिनै गाह्रो हुन्छ,’ उनले भने, ‘उनीहरूले आँट गरेर विशेषज्ञको जाँदा नबुझ्ने मन्छेकोमा पुग्दा झनै दोस्रो पटक उपचार खोज्दैन। यहाँ डरलाग्दो त्यही छ। त्यसले गर्दा पनि लाइसेन्स जरुरी हो।’
मानसिक समस्या वा रोग कसरी पहिचान गर्ने
हामी सबैको जीवनमा उतारचढाव आइरहन्छ। समस्या जहाँ पनि हुन्छ। शारीरिक समस्या पनि आउँछ। र मानसिक स्वास्थ्य पनि। त्यसले क्षणिक समस्या हुनसक्छ। तर त्यो कुनै डिसअर्डर अर्थात् रोग नहुने मनोचिकित्सक ऋषभ कोइराला बताउँछन्।
सामान्य समस्या समय र परिस्थिति अनुसार शरीरले गर्ने व्यवहार हो। तर ती व्यवहारले सामाजिक र व्यवहारिक रूपमा समस्या आए त्यसलाई रोग भनिन्छ।
मानसिक स्वास्थ्य र रोगलाई छुट्याउने सजिलो उपाय भनेको व्यक्तिले गर्ने सामान्य व्यवहार सामान्य भन्दा अस्वाभाविक रूपमा फरक देखाउनु हो।
९० प्रतिशत समस्याहरू दैनिक जीवनमा आउँछ। सामाजिक रूपमा हल नभएको विषय लिएर विशेषज्ञको पुग्नुपर्ने मनोचिकित्सक ऋषभ कोइराला बताउँछन्। विशेषज्ञको पुगेपछि समस्याको वर्गीकृत गरेर सेवा दिइने उनले जानकारी दिए।
कुनै व्यक्तिलाई गरिरहेको काम गर्न मन लाग्दैन। हिजो एकदमै मनपर्ने खानेकुरा अगाडी हुँदा पनि खान मन लाग्दैन। यसरी आफ्नो रुचि परिवर्तन हुनु। धेरै रिस उठ्नु, चिडचिडापन हुनु, र चिडचिडापन थाहा भएर पनि व्यवस्थापन गर्न नसक्नु, यस्ता किसिमका थुप्रै सङ्केतहरू देखिने मनोविद् विजया बिजुक्छे बताउँछिन्।
त्यस्तै रातीमा निन्द्रा नपर्नु पनि हो। निन्द्रा नपर्ने अन्य थुप्रै कारण पनि हुन्छ। नबोल्ने मान्छे धेरै बोल्न थाल्ने, धेरै बोलिरहने रमाइरहने मान्छे आइसोलेसनमा जाने, एक्लै बसिदिने, अरू कोही मान्छे देख्दा दिक्क मान्ने, झगडा गर्ने जस्ता व्यवहारमा परिवर्तन आउने उनले जानकारी दिइन्।
उनका अनुसार कुनै व्यक्तिको आवश्यकता के थियो? पहिला के भइरहेको थियो? के गर्दा गाह्रो अवस्था उत्पन्न भएको हो? त्यसको मापन गर्ने र त्यही अनुसार उपचार गर्ने उनले बताइन्।
उनले भनिन्, ‘औषधि खाने हो, अथवा सामान्य काउन्सिलिङ लिने, परिवारसँग कुरा गर्ने वा साइको थेरापी लिने विषय व्यक्ति अनुसार फरक पर्छ।’
कस्ता समस्या धेरै?
२०७७ मा भएको सर्भेले १३ देखि १७ उमेर समूहकf किशोर किशोरीहरू ५ दशमलव ४ प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या हुने देखाएको छ। सबैभन्दा धेरै देखिने समस्या भनेको चिन्ता र उदासीनता हो।
दिनमा ५० जना बिरामी आउँदा १० जनालाई चिन्तासम्बन्धी समस्या, ५ देखि ८ जनालाई उदासीनता हुन्छ।
कान्ति अस्पतालमा सेवा लिन आउने धेरै बिरामीमा एन्जाइटी र डिप्रेसन देखिएको बाल मनोचिकित्सक झा बताउँछन्। उनका अनुसार अस्पताल आएका डिप्रेसन २ देखि ३ प्रतिशत जनसङ्ख्यामा हुन्छ। एन्जाइटि ३ देखि ५ प्रतिशतमा हुन्छ। कोभिड पछि अस्पतालमा २५ देखि ३० प्रतिशत डिप्रेसन हुन्छ। एन्जाइटी पनि त्यसरी नै बढेको छ।
अहिले यस्ता बिरामीको नम्बर बढ्दै छ। ‘साइबर भिक्टिम’का समस्या पनि बढिरहेको छ। साइबर दुर्व्यवहार पनि बढिरहेको छ।
सुरुमा औषधि खाने कि परामर्श लिने
मनको उपचार अभ्यासको गाइड लाइन संसारभर एउटै हुने मनोचिकित्सक ऋषभ कोइरालाले बताए। त्यो गाइड कसैले पछ्याउन सकेन भने त्यो पेसाकर्मी को कमजोरी हुने उनको मत छ।
‘उपचारको क्रममा सुरुमा समस्या हेरिन्छ, समस्यालाई निदान गरिन्छ त्यसपछि उपचारको विधि प्रयोग गरिन्छ,’ उनले भने,‘जथाभाबी रूपमा औषधिको प्रयोग हुन्छ भने त्यो गलत अभ्यास हो।’
मनोविद् विजया भन्छिन्, ‘सुरुमा यही नै हुन्छ भन्ने छैन।’
उनका अनुसार काउन्सिलिङ गर्नुपर्ने अवस्था भए काउन्सिलिङ गरिन्छ। काउन्सिलिङले मात्र हुँदैन भने साइक्राटिक कहाँ जानुस्। औषधि खानुस्, भन्छौं। उनीहरूलाई कम्तीमा पनि दुई हप्ता औषधि खाएपछि दिमाग स्थिर हुन्छ। त्यसपछि काउन्सिल गर्न मिल्ने नमिल्ने परीक्षण गरौंला भन्छौं।
‘कतिपय अवस्थामा अनावश्यक रूपमा औषधि प्रयोग भइरहेको छ। त्यस्ता बिरामी आफू कहाँ आउँदा तत्काल साइक्राटिकसँग सल्लाह लिन सुझाउँछौँ,’ मनोविद् विजयाले भनिन्, ‘एन्जाइटी (दुष्चिन्ता) को औषधि लिइरहेको महिनौं भयो। तर लक्षण व्यवस्थापन भइरहेको छैन भने साइक्राटिक कहाँ गएर औषधिले समस्या समाधान भएन भनेर बन्दा गर्न लगाउन सुझाइन्छ। त्यसपछि थेरापी मा जाउला भन्छौं।’
कुनै पनि बिरामीलाई औषधि सुरु गर्नु अघि होलिस्टिक अप्रोचबाट हेर्नुपर्ने उनले जानकारी दिइन्।
बिरामीलाई सुरुमा औषधि चलाएर सन्चो हुने, अथवा काउन्सिलिङ मात्र गरेर सन्चो हुने (नर्मल हुने) भन्ने हुँदैन। व्यक्ति अनुसार फरक पर्ने उनको भनाई छ।
‘अन्तर्राष्ट्रिय स्तरमा मूल्याङ्कन गर्ने, उपचार गर्ने मान्छे अलग हुन्छन्। त्यसपछि मनोपरामर्शकर्ता कहाँ जान्छ अथवा औषधि खान्छ। त्यो सेक्सन अनुसार उपचार प्रक्रियामा जान्छन्,’ उनले भनिन्।
बिरामीको चाप, जनशक्ति अभाव
अहिले देशभर ४४० शय्या मानसिक स्वास्थ्य सेवाका लागी छुट्याइएको छ।
मानसिक स्वास्थ्यमा डेडिकेटेड अस्पतालको रूपमा केन्द्रमा एक मात्र पाटन मानसिक अस्पताल छ। कान्ति बाल अस्पतालमा सेवा विस्तार गरिएको छ।
नेपालमा विश्व स्वास्थ्य संगठनका निर्धारण गरे अनुसारको मानसिक स्वास्थ्यका जनशक्ति अबको ५० वर्षमा पनि अपुग हुने मनोचिकित्सक ऋषभ बताउँछन्।
राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना अनुसार अहिले नेपालमा २०० जना मनोचिकित्सक , ३५ जना चिकित्सा मनोविद्, ८५ जना साइक्राटिक नर्स, २०० जना मनोविद् र ८०० जना तालिम प्राप्त मनोपरामर्शकर्ता छन्।
‘यी जनशक्तिमध्ये कति जना मृत्यु भयो, कयौं बिदेसिएका छन्,’ मनोचिकित्सक ऋषभ भन्छन, ‘मसँग पढेको ५ जनामध्ये ४ जना विदेशमा हुनुहुन्छ। अहिले जनशक्ति धेरै कम छ।’
मानसिक स्वास्थ्य सेवामा पनि धेरै किसिमका सेवाहरू दिन थालिएको छ। तर, ती सेवा सहर केन्द्रित रहेको मनोचिकित्सक ऋषभ बताउँछन्।
गाउँहरूमा मनोविद् होस या मनोचिकित्सक कुनै पनि विशेषज्ञको सुविधा नभएकोमा उनले दुखेसो पोखे।
सरकारले मानसिक स्वास्थ्यमा कार्यक्रमहरू ल्याएको छ।तर केही नीति लागु भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको जानकारी दिए।
सेवा दिने विषय पहिला भन्दा राम्रो छ। पाँच वर्ष अघि एक जना बाल मनोचिकित्सक थिए। अहिले ४ जना हुनुहुन्छ। विशेषज्ञको संख्या बढिरहेको छ। तर पनि अपुग छ। क्रमिक रूपमा सुधार भइरहेको छ।
पाँच वर्ष अघि एक जना बाल मनोचिकित्सक थिए। अहिले कान्ति बाल अस्पतालमा ४ जना बाल मनोचिकित्सक छन्। विशेषज्ञको संख्या भन्दा बिरामीको चाप बढी भएका कारण अझै विशेषज्ञ अपुग छ।
कोभिड पछि एन्जाइटी, डिप्रेसन लगायतका विभिन्न मानसिक स्वास्थ्य समस्या लिएर अस्पताल आइपुग्ने बिरामीको संख्या बढिरहेको बाल मनोचिकित्सक अमित बताउँछन्।
कान्ति बालमा मानसिक सेवा दिन २०१५ मा सुरु भएको हो। सुरुको वर्षका ७८० बिरामीलाई सेवा दिइएको थियो भने अघिल्लो वर्ष लगभग ८ हजार बालबालिकालाई सेवा दिइएको डा अमित झा ले बताए।
‘पहिलो २ जनाले १० जनालाई हेर्नुपर्थ्यो। अहिले २ जनाले ५० जनालाई हेर्नुपर्छ,’ उनले भने,‘यस्तो अवस्थामा समय र सेवाको गुणस्तरमा कम्प्रमाइज गर्नुपर्छ। अनि अपोइन्टमेन्ट दिने पनि ढिला हुन्छ।’
‘सुरुमा फलोअपमा दुई दिनमा हेर्न सकिन्थ्यो भने अहिले १० दिनपछि बोलाउनुपर्ने हुनसक्छ,’उनले थपे।
मनोचिकित्सक ऋषभका अनुसार गाउँमा भएका हेल्थ असिस्टेन्टलाई प्राथमिक हेरचाहको तालिम दिइएको छ। नर्स र प्यारामेडिक्स लाई साइकोलोजिष्टको पहिलो तहको तालिम दिइरहेको छ। यसमा सरकारले पनि मद्दत गरिरहेको छ। तालिम कार्यक्रमहरू ६ प्रकारका छन्। तर कार्यान्वयन जति हुनुपर्ने त्यति भएको छ।
मनको समस्या कसलाई सुनाउने?
सरकारले आत्महत्या रोकथाम गर्न ११६६ हेल्पलाइन सञ्चालन गरेको छ। हेल्पलाइनमा तालिम प्राप्त मनोपरामर्शकर्ताले आत्महत्या रोकथामका लागी काम गर्छन्। यस हेल्पलाइन् नि:शुल्क र २४सैं घण्टा सेवा लिन सकिन्छ।
अहिले समाजमा मनसँगको समस्यामा जनचेतना बढे पनि समस्याका बारेमा को सँग कुरा गर्ने? भन्न मिल्छ कि मिल्दैन? कुन कुरा कसलाई भन्न मिल्छ? कुन व्यक्ति छान्ने? त्यो चाहिँ थाहा नहुने समस्या धेरै देखिएको मनोविद् विजया बताउँछिन्।
उनी भन्छिन्, ‘कहिले काहीँ हामीले मनको कुरा भन्दा गलत मान्छे परिदिन्छ। व्यवसायीक व्यक्ति पनि गलत हुनसक्छ।’
‘न्युरोलोजिष्टले थाहा नदिई एक जनालाई एन्जाइटीको औषधि दिनुभएको रहेछ,’ उनले भनिन्, ‘उहाँले तीन वर्ष पछि एन्जाइटीको औषधि प्रयोग गरिरहेको थाहा पाएपछि आफूलाई हानी पुराउनुभयो। बिरामीलाई थाहा नदिन औषधि दिन मिल्छ कि मिल्दैन ?’
यस्ता धेरै किसिमका समस्याहरू छन्। मानसिक स्वास्थ्य समस्याको जनचेतनामा साना मुद्दालाई हेर्ने हो भने धेरै समस्या रहेकोमा उनले गुनासो पोखिन्।
उनका अनुसार मानसिक स्वास्थ्यको सहयोग साथीहरूले एकले अर्कालाई सम्झाएर बुझाएर, कुराहरू सेयर गरेर पनि गर्न सकिन्छ।
जनचेतना कसरी जगाउने
शरीरको चोट जस्तै मनमा पनि चोट लाग्छ। त्यसैले मानसिक स्वास्थ्य भन्ने बित्तिकै नकारात्मक नहुन मनोचिकित्सक ऋषभ सुझाउँछन्।
वडाले आफ्नो बजेटबाट सामाजिक जनचेतनाको लागी, क्षमता विकासका लागी बजेट छुट्याएको हुन्छ। वडाले त्यो बजेटको सानो हिस्सा मात्र पनि घर घरमा गएर मानसिक स्वास्थ्यका बारेमा सोध्ने, हप्तामा सामूहिक छलफल गराउन मनोविद् विजयाले सुझाइन्।
उनका अनुसार बच्चाहरूको पढाई कस्तो छ। बच्चाको प्रदर्शनको आधारमा उसको अभिभावकले गर्ने व्यवहार कस्तो छ? त्यो विषय निगरानी गर्नुपर्छ।
यदि कसैले फरक व्यवहार देखाए उसलाई कसरी सम्बोधन गर्ने र सम्बन्धित निकाय अर्थात् यसका लागी काउन्सिलर कहाँ जानुपर्छ भन्ने खालको सूचना दिनुपर्छ। यस्ता सूचना दिनका लागी सोसल वर्क र साइक्राटिक सोसल वर्क पढिरहेका विद्यार्थीलाई वडाले परिचालित गरे डिप्रेसन र एन्जाइटीको क्लिनिकल अवस्थामा पुग्नु पर्दैन। आत्तिए पनि अर्को कुराले आत्तिन्छ। त्यही कुरा १० वर्षसम्म झेल्नु नपर्ने उनले जानकारी दिइन्।
सबैभन्दा नजिकको सरकार वडा हो। हाम्रो प्रतिनिधि हो भने हाम्रो लागी वडाले नै काम गर्नुपर्छ। वडाले स्थानीय सरकार वा तिनै तहको सरकारसँगको सहकार्यका पहल गर्नुपर्ने उनको मत छ।