प्रधानमन्त्रीपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले ‘प्रथम महिला’ को रूपमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीपत्नी सीताको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
उनको निधनपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले ‘प्रथम महिला’ को रूपमा राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले ‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाका दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीबाट सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको’ जानकारी दिइन्।
यसअघि गृह मन्त्रालयले प्रचण्डपत्नी सीताको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न सिफारिस गरेको थियो।