post-slider post-slider

बाढीपहिरोको स्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड प्रभावित क्षेत्रमा

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको पूर्वी नेपालको स्थिति बुझ्न त्यसतर्फ प्रस्थान गरेका छन्।

नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री प्रचण्ड पूर्वी नेपालको स्थिति बुझ्न त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ पनि बाढीपहिरोको स्थिति बुझ्न त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री नेतृत्वको टोलीमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, बसन्त नेम्वाङ र प्रदेससभा सदस्यहरू दीपक खड्का र राजेन्द्र कार्की पनि सहभागी छन्।

शनिबार राति आएको अबिरल वर्षाका कारण पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्लाका विभिन्न क्षेत्रहरूमा ठूलो मात्रामा धनजनको क्षति भएको छ।

वर्षापछि आएको बाढीपहिरोका कारण त्यो क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको छ।

बाढीका कारण पुल भत्किएपछि ताप्लेजुङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने सम्पर्क टुटेको छ।

प्रधानमन्त्री प्रचण्डसहितको टोलीमा नेपाली सेनका प्रधानसेनापति, गृह मन्त्रालयअन्तर्गतका विपत हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत हेर्ने अधिकृतहरू पनि सामेल छन्।

बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ भने भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट अलग भएका पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजका सामान प्रभावित क्षेत्रमा पठाइएको छ।

 

Tags: