post-slider post-slider

‘नेपाल–भारत सीमा विवाद समाधान गर्न ‘बाउन्ड्री वर्किङ ग्रुपले’ काम गरिरहेको छ’

Image
A A

काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारत सीमा विवादबारे ‘बाउन्ड्री वर्किङ ग्रुप’ ले काम गरिरहेको बताएका छन्।

नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै हदसम्म सहमति भइसकेको बताए।

उनले सीमा विवाद समाधानका लागि दुवै देशको  ‘ज्वाइन्ट बाउन्ड्री वर्किङ ग्रुप’ ले काम गरिरहेको जानकारी दिए।

‘कालापानी लिम्यिाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ,’ साउदले भने, ‘यसमा दुवै देशको ज्वाइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ। सहमतिका साथ यो काम अघि बढिरहेको छ।’

नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनकाबारे पूर्ण रुपमा सजग रहेको समेत उनले बताए।

सीमा समस्या वाता, छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको उनको भनाइ थियो।

मन्त्री साउदले भारतका विदेशमन्त्री एस.जयशंकरको हालैको भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गरे।

‘भारतलाई १० हजार मेगावाट विद्युत बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउनेलगायतका हामीबीच सम्झौता भएका छन्,’ उनले भने, ‘दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि जयशंकरको नेपाल भ्रमण सार्थक रह्यो।’

मन्त्री साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी गरे।

उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन फाइनल गर्ने काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने बताए।

 

 

Tags: