post-slider post-slider

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता नगर्न सर्वोच्चको अन्तरिम आदेश

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेहरू विरूद्धको मुदा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

चलाउनेले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलाजसले तत्कालका लागि यो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

आफूलाई कुटपिट गर्ने नेविसंघआवद्ध विद्यार्थीहरूको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सर्वोच्च अदालतमा रिट हालेका थिए।

सरकारको निर्णयपछि चलाउने आमरण अनसनमा बसेका छन्। चलाउनेलाई न्याय माग्दै प्रदर्शनहरू समेत भएका छन्।

सर्वोच्चले मुद्दा फिर्ताको कारण पेस गर्न विपक्षीको नाममा आदेससमेत गरेको छ।

सरकारको निर्णय महान्यायाधीवक्ता कार्यालय हुँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई आक्रमणकारीहरूविरूद्धको मुद्दा फिर्ता लिन आइतबार निर्देशन दिइएको थियो।

उक्त निर्देशनपछि मुद्दा फिर्ता लिन सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा फिर्ताको निवेदन पेस गरिसकेको छ।

त्रिभुवन विश्वविद्यालयमा सामाजशास्त्रका उपप्राध्यापक रहेका चलाउनेमाथि त्रिवि परिसरभित्रै २०७७ असोज २० गते आक्रमण भएको थियो।

नेविसंघआवद्ध योगेन्द्रबहादुर रावल, हरिप्रसाद आचार्य, रूपेश शाह, रविनकुमार लामा, सयुज श्रेष्ठ, दीपकराज ओझासहितले कुटपिट गरी चलाउनेलाई घाइते बनाएका थिए।

घटनापछि उनीहरूविरूद्ध जिल्ला अदालत काठमाडौंमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

 

Tags: