रुसी सेनामा भर्ना भएका लमजुङका युवा युद्धमा मारिए
काठमाडौं, माघ २- रुसी सेनामा भर्ना भएका लमजुङका अर्का युवाको मृत्यु भएको छ।
लमजुङ दूधपोखरी गाउँफालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए।
गुरुङका अनुसार उनको मृत्युको खबर चार-पाँच दिनअघि आएको हो। वैदेशिक रोजगारीमै रहेका उनका भाइ कुमारले साजनको मृत्युको खबर पठाएका थिए।
गुरुङका अनुसार साजन तीन-चार महिनाअघि मात्रै रुसी सेनामा गएका थिए। उनी के कसरी रुसी सेनामा पुगे भन्नेबारे खोजी थालिएको वडाध्यक्ष गुरुङले बताए।
साजनको मृत्युको खबर पाएपछि परिवारले काजकिरिया समेत गरेका छन्। पुस २९ गते नै परिवारले छोराको काजकिरिया सकेको वडाध्यक्ष गुरुङले बताए।
साजनका बुवा-आमा, श्रीमती र एक छोरा छन्।
यो सँगै रुस-युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या १२ पुगेको छ।
यसअघि ज्यान गुमाउनेमा प्युठान नगरपालिका-४ काठेवरका सोनु सुनार, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की छन्।
यसैगरी, इलाम-५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका-६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा-१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन्।