post-slider post-slider

राष्ट्रियसभा निर्वाचनमा स्वच्छ छवि भएकालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा अवसरबाट बञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने निर्णय गरेको छ।

पुस १२ देखि १४ गतेसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।

बैठकको निर्णय सार्वजनिक गर्न आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले स्वच्छ छवि र अवसर नपाएकालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए।

उनले केन्द्रीय समितिको बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेदवार बननाउने निर्णय भएको बताए।

कांग्रेस केन्द्रीय समिति बैठकले शान्ति प्रक्रियासँग सम्बन्धी बाँकी काम निष्कर्षमा पु¥याइ द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुने निष्कर्षसहित यो प्रक्रियामा संलग्न सबैसँग साझा सहमतिको लागि अपिल गरेको छ।

बैठकले गत मंसिर २९ गते बसेको कार्यसम्पादन समितिको बैठकले २०८० फागुन ७ देखि १० गते गर्ने भनि निर्णय गरेको महासमितिको बैठकको मिति परिमार्जनलाई अनुमोदन गर्ने निर्णय गरेको छ।

प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले यो अवधिमा सम्पादित भूमिका एवं कार्यबारे बैठकलाई जानकारी गराएको बताए।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले गएको एक वर्षमा विकास निर्माण, सुशासन, रोजगार प्रवद्र्धन, समृद्धि, भूकम्प, बाढीपहिरो, डुवान एवं अन्तर्राष्ट्रिय क्षेत्रमा भएको युद्धका कारण विपदमा परेका नेपालीको उद्धार एवं राहतमा सरकारका कार्य सन्तोषजनक रहँदारहँदै पनि जनतामा उत्साह भर्न थप कार्य तीव्र गतिमा गर्नु आवश्यक भएको राय व्यक्त गरेका थिए।

कांग्रेसले मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा सुधारका संकेत देखिएको उल्लेख गर्दै मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा विकसित परिस्थितिलाई मध्यजनर गरी विशेषगरी रोजगारीका अवसर सिर्जना हुनेगरी आवश्यक प्रभावकारी नीति लिन सरकारसँग माग गरेको छ।

बैठकले शान्ति, सुव्यवस्थाको प्रत्याभूतिसँगै सुशासनका लागि प्रभावकारी नीति अवलम्बन गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

कांग्रेस बैठकले पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ।

 

Tags: