post-slider post-slider

एनसेलविरूद्धको मुद्दा : अमरेशकै कानुन व्यवसायीले गरे सुनुवाइ स्थगित

Image
A A

काठमाडौं- एनसेलविरूद्धको मुद्दामा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहका कानुन व्यवसायीले नै आइतबार सुनुवाइ स्थगित गरेका छन्।

यसअघि ‘हेर्न नभ्याइने’ मा पर्दै आइरहेको मुद्दामा सुनुवाइको पालो आउँदा सिंहका कानुन व्यवसायीले स्थगित गरेका हुन्।

न्यायाधीश सुष्मालगता माथेमाको एकल इजलासमा परेको एनसेलविरूद्धको रिट सुनुवाइ हुने क्रममा पुग्दा निवेदक पक्षका कानुन व्यवसायीले स्थगित गरेका हुन्।

न्यायाधीश माथेमाको इजलासमा १५ वटा मुद्दा रहेकोमा एनसेलविरूद्धको मुद्दा सातौं नम्बरमा परेको थियो।

यसअघि निवेदक सिंहले मुद्दाको सुनुवाइका लागि आफू पालो कुरेर बसिरहेको बताएका थिए।

उनले यो मुद्दामा निवेदक भएको आधारमा आफैं पनि बहस गर्ने तयारी गरेका छन्।

एनसेलको सेयर खरिदबिक्री प्रकरणविरूद्ध रिट निवेदन दर्ता भएर पेसी चढेको एक सातासम्म मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको थियो।

अघिल्लो शुक्रबार दर्ता भएको रिट निवेदन आइतबारदेखि शुक्रबारसम्म लगातार नभ्याइनेमा पर्दै आएको थियो।

एनसेलको सेयर खरिदबिक्री गर्दा ठूलो ‘भ्रष्टाचार’ भएको सांसद सिंहले दाबी गरेका छन्।

उनले यो प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहालका साथै ठूला व्यापारीहरूको संलग्नता रहेको आरोप लगाउँदै आएका छन्।

दाहालको संलग्नता रहेको प्रमाण आफूसँग सुरक्षित रहेको र मुद्दाको सुनुवाइका क्रममा अदालतमा पेस गर्ने सिंहले बताएका छन्।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको खुलेपछि विवाद भएको हो।

 

Tags: